भारतमा कोरोनाभाइरसविरूद्ध तेस्रो खोप पनि प्रयोग हुने भएको छ। रूसले बनाएको स्पुतनिक भी भ्याक्सिनको डेढ लाख डोज शनिबार हैदरावाद आइपुगेको छ। भारतमा यसअघि अक्सफोर्ड/अष्ट्राजेनेकाले बनाएको कोभिसिल्ड र भारत बायोटेकको कोभ्याक्सिन खोप प्रयोगमा थियो।
मे १ देखि भारतमा १८ वर्षमाथिका सबैलाई खोप लगाउन थालिएको छ। कैयौं राज्यहरूमा खोपको अभाव भइरहेका बेला रूसी भ्याक्सिनलाई पनि प्रयोगमा ल्याउन थालिएको हो।
गत महिना आपतकालीन प्रयोग अनुमति पाएको रूसी भ्याक्सिन सर्वसाधारणलाई लगाउनुअघि नियामक निकायले केही प्रक्रिया पूरा गर्न बाँकी रहेकाले केही दिनमा खोप प्रयोगमा आउने बताइएको छ। भारतमा रूसी खोपको मार्केटिङ डाक्टर रेड्डीज ल्याबोरेटोरिजले गर्नेछ।
दुई डोज लगाउनु पर्ने रूसी भ्याक्सिनको प्रभावकारिता ९१.६ प्रतिशत रहेको बताइन्छ।
अहिले आएको भ्याक्सिन पाइलट प्रोजेक्टको रूपमा लगाइने र केही सातामै थप भ्याक्सिन आउने डाक्टर रेड्डीजले जनाएको छ।
भारत पछिल्लो समय कोरोनाभाइरसको हटस्पट बनेको छ। शनिबारमात्रै भारतमा ३ लाख ९२ हजार मानिस संक्रमित भएका छन् भने झन्डै ३ हजार ७ सयले ज्यान गुमाएका छन्।