भारतको खोप निर्माता कम्पनी सिरम इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत (सिइओ) आदर पुनावालाले भारतमा आफूलाई शक्तिशाली व्यक्तिहरूबाट खोपको लागि धम्कीपूर्ण फोन आइरहेको बताएका छन्।
पुनावालामाथि कोभिसिल्ड खोपको छिटो आपूर्ति गर्न दबाब छ। अहिले लन्डनमा रहेका पुनावालाले एक अन्तर्वार्तामा धेरै शक्तिशाली व्यक्तिबाट फोनहरू आएको बताएका हुन्। तत्काल खोप उपलब्ध गराउन भन्दै मुख्यमन्त्री, धनाढ्य व्यापारी र अन्यबाट फोन आउने गरेको उनको भनाइ छ।
भारतमा प्रयोग भइरहेका दुई वटा खोपमध्ये एक सिरमद्वारा उत्पादित कोभिसिल्ड हो।
पुनावालाले अन्तर्वार्तामा भनेका छन्,'धम्की सीमित छ। आशा र आक्रमक शैली साँच्चै अभूतपूर्व छ। सबैजनाले खोप पाउनुपर्छ भन्ने महशुस गरेका छन्। तर उनीहरूलाई भन्दा छिटो पाउनु पर्ने अरू छन् भन्ने उनीहरू बुझ्दैनन्।'
ती शक्तिशालीहरूले आफूलाई खोप उपलब्ध नगराए राम्रो नहुने भन्दै धम्की दिने गरेको उनले बताए।
बेलायतले भारतबाट आउनेहरूमाथि रोक लगाउनु अघि नै उनी लन्डन पुगेका थिए।
'यहाँ म यात्रा समय लम्ब्याएर बसेको छु। किनकी मलाई त्यो अवस्थामा फर्किन छैन। सबै मेरो काँधमा खस्छ तर म एक्लैले सबै गर्न सक्दिनँ... म त्यो अवस्थामा पुग्न चाहँदिन जहाँ तपाईं आफ्नो काम गर्न खोज्दै हुनुहुन्छ तर एक्स, वाई, जेडलाई खोप आपूर्ति गर्न नसक्नाले आफूलाई उनीहरूले के गर्छन् भन्ने सोच्नु पर्ने अवस्था आउँछ,' उनले भने।
पुनावालाले बेलायतमा खोप उत्पादनलाई बढाउने व्यापारिक योजनासहित आएको बताएका छन्।
बेलायतमा पनि खोप उत्पादन गर्नेबारे प्रश्न गर्दा उनले भने,'केही दिनमा अर्को एउटा घोषणा हुँदैछ।'