प्रिती चनारा कोरोना विशेष अस्पताल बेलझुण्डी दाङकी स्टाफ नर्स हुन्।
कोरोना अस्पताल स्थापना भएदेखि नै उनले यहाँ सिफ्ट इञ्चार्जको रूपमा काम गर्दै आएकी छन्। उनकी दिदी पनि यही अस्पतालमा सँगै काम गर्छन्।
अघिल्लो वर्ष सरकारले नै कोरोना बिरामीको उपचारमा खटिएकालाई १४ दिन आइसोलेनसको व्यवस्था अस्पतालमै गरेको थियो । तर, यो वर्षदेखि त्यो सुविधा कटौती भएको छ।
त्यसैले प्रितीका दिदी-बहिनी निषेधाज्ञा नहुँदासम्म सार्वजनिक बस चढेर तुलसीपुरस्थित घरदेखि बेलझुण्डी अस्पताल आउजाउ गर्थे।
निषेधाज्ञा भएपछि अहिले उनीहरू अस्पताल-घर गर्न आफन्त र साथीभाइ गुहारिरहेका छन्। यहाँ कार्यरत स्वास्थ्यकर्मी र चिकित्सकका लागि खाना र आवासको व्यवस्था अस्पतालमै मिलाउन स्थानीय पालिकाले रकम छुट्याइसकेका छन्।
घरमा आउँदा-जाँदा परिवारले हौसला दिने गरेको प्रितीले बताइन्।
‘घरका सदस्यले अप्ठेरो परेको समयमा नर्सले बिरामीलाई सेवा दिनुपर्छ भन्नुहुन्छ,’ उनले भनिन्, ‘उहाँहरू डराउनु हुन्न, तर समाज अरू मानिस भने मजाक गरेर हामीलाई सर्ला है भन्नुहुन्छ।’
उनले पोहोर सालभन्दा अहिलेका बिरामीको अवस्था गम्भीरखाले रहेको बताइन्। पिपिई, मास्क लगाएर सुरक्षित भएर बिरामीको उपचार गर्दा प्रितीलाई डर नलागे पनि जब कुनै बिरामीको अवस्था अन्तिम हुन्छ वा अक्सिजन सकिन लागेको थाहा हुन्छ त्यस्तोबेला डर लाग्ने गरेको उनले बताइन्।
‘त्यस्तो दृश्य देख्दा डर लाग्छ,’ उनले भनिन्, ‘बिरामीको मुखबाट अक्सिजन तान्दै गर्दा हात काँपेजस्तो हुन्छ।’
सिफ्टअनुसार काम गर्दा सकेजति मेहनत गरे पनि सबै बिरामीलाई एकै पटक रेखदेख गर्न नसक्दा कहिलेकाहिँ आफू आत्तिने गरेको उनले बताइन्। उनले कोरोना अस्पतालमा थप जनशक्तिको आवश्यकता औंल्याइन ।
कतिपय कुरा आफूले नजानेको हुने र त्यस्तो बेला त्यसबारे थप राम्रोसँग बुझेको भए बिरामीलाई अझैं राम्रो सँग उपचार गर्ने थिएँ भन्ने मनमा लाग्ने गरेको उनले बताइन्।
बिरामीले आफूलाई असहज भो वा गाह्रो भयो भन्नेबित्तिकै आफूहरू पुगिहाल्ने गरेको उनले बताइन्।
‘आफूले हेरचाह गर्दै आएका बिरामी छिटो निको भइदिएहुन्थ्यो भन्ने लाग्छ,’ प्रितीले भनिन् ‘ तर, राम्रो हेरचाह गदागर्दा बिरामीको मृत्यु भएपछि आफूलाई नै नराम्रो लाग्छ।’
प्रिती आफूले नर्सिङ पढेर राम्रै गरें भन्ने ठान्छिन् ।
उनले भनिन्- ठाउँ-ठाउँका बिरामी आउनुहुन्छ र उहाँहरूको सेवा गर्न पाउँदा मनमा खुसी मिल्छ, राम्रो लाग्छ।’