तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ की कोरोना संक्रमित तारा पाठक रेग्मीले आफूलाई अक्सिजन चाहिएको र अक्सिजन बिना सास फेर्न गाह्रो भएको कुरा गरिन्।
पदम पोखरेल तुरुन्तै उनकै घरमा अक्सिजन सिलिण्डर लिएर पुगे। उनलाई नि:शुल्क अक्सिजन दिएर फर्किए।
तुलसीपुर-९ का जितबहादुर सुनार, वीरेन्द्र श्रेष्ठ, तुलसीपुर-७ गणेशपुरका कमल वली र तुलसीपुर-९ नयाँ बस्तीकी भक्तमाली घर्तीले पनि आफूहरूलाई श्वासप्रश्वासमा गाह्रो भएको भन्दै अक्सिजनका लागि हारगुहार गरे।
पदम पोखरेलले उनीहरूको पनि घरमै अक्सिजन सिलिण्डर पुर्याइदिए।
‘मलाई धेरै सर्वसाधारण मानिसले सास फेर्न गाह्रो भए भन्दै फोन गर्नुहुन्छ, बिलौना गर्नुहुन्छ,’ पोखरेलले भने, ‘खोजेर राखेका सिलिण्डर सम्भव भएसम्म घरमै लगेर नि:शुल्क छोडिदिने गरेको छु।’
उनीहरू गाडीको व्यवस्थापन पनि आफैंले गरिरहेका छन्। बिरामीसँग एक रुपैयाँ पनि नलिने गरेको उनले बताए।
दाङमा वैशाख १७ गते बिहानदेखि लकडाउन सुरू भयो।
त्यो भन्दा पहिलेदेखि नै छिमेकी देश भारत र नेपालगञ्जका अस्पतालहरूमा बिरामीलाई अक्सिजनको अभाव भएको कुरा पोखरेलले सुने, देखे।
त्यो अभाव आफ्नै ठाउँमा पनि हुन सक्छ भन्ने अनुमानले उनले नमूना अटोभिलेज तुलसीपुरका ग्यारेजहरूबाट खाली सिलिण्डर संकलन गर्न थालिसकेका थिए। पोखरेल उक्त अटोभिलेजका अध्यक्ष पनि हुन्।
त्यसरी संकलन गरेका दस सिलिण्डर उनले तुलसीपुर उपमहानगरपालिकालाई हस्तान्तरण गरे।
महामारीको समयमा स्व:स्फूर्त रुपमा गरेको कार्य देखेर मेयर घनश्याम पाण्डेले उनलाई अक्सिजन सिलिण्डर व्यवस्थापन तथा खोजी गर्नका लागि सहजीकरण गरिदिए।
पोखरेललको संयोजकत्वमा तुलसीपुरका कर्मचारी टोपबहादुर डाँगी र मेयरका प्रेस सल्लाहकार ओपेन्द्र बस्नेत सदस्य रहेको एउटा टिम गठन भयो।
उनीहरूले विभिन्न उद्योगहरूमा ग्यास सिलिण्डर खोजी गर्न थाले।
‘कसैले रित्तो दिनुहुन्छ र कसैले भरेको सिलिण्डर पनि दिनुहुन्छ,’ पोखरेलले भने।
यो बीचमा एक दिन कोरोना विशेष अस्पताल बेलझुण्डीमा बिरामीलाई अक्सिजनको अभाव सिर्जना भयो। त्यतिबेला पोखरेलको टिमले खोजेका सिलिण्डर त्यहाँ लगियो।
हालसम्म उनीहरूले तीस वटाजति सिलिण्डर संकलन गरेर बिरामीलाई दिएका छन्।
अब संकलन हुने सिलिण्डर भरेर तुलसीपुर-९ अश्वारामा सञ्चालन गर्ने तयारीमा रहेको मेट्रो भीमसेन अस्पतालका लागि सञ्चय गर्न थालिएको छ। त्यहाँ ५० बेडेको अक्सिजनसहितको आइसोलेन अस्पताल तयारी अवस्थामा छ।
पोखरेलले भने, ‘तर, यो बीचमा कुनै पनि बिरामीलाई अक्सिजनको चरम अभाव भयो र बिरामी छटपटाउँदै गरेको खबर पाउनासाथ हामी अक्सिजन बोकेर पुग्ने छौं।’
उनले सिलिण्डरका लागि ‘मेरो एक हजार अभियान’ पनि चलाइरहेका छन्।
उनको त्यो अभियानलाई धेरैले साथ दिइरहेका छन्।
कठिन सयमा धेरै मानिसले सक्दो सहयोग गर्न थालेपछि तुलसीपुरका मेयर घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिका प्रकोप व्यवस्थापनका नाममा तुलसीपुरस्थित मेघा बैंकमा खाता खोल्न लगाए। अभियानको रकम त्यो खातामा जम्मा हुन थालेको छ।
‘विपदको समयमा पोखरेलजीको सक्रियता देखेर हामीले बिरामीको ज्यान जोगाउन संयुक्त पहल थालेका छौं,’ मेयर पाण्डेले भने, ‘अहिलेसम्म उहाँले गरिरहनु भएको कार्यले धेरै छटपटाइरहेका बिरामीले सास फेर्न पाउनु भएको छ।’
पोखरेलले महामारीको समयमा अप्ठ्यारोमा परेका मानिसहरूलाई सेवा गर्न पाउँदा खुसी लागेको बताए।