एउटै कारभित्र मृत अवस्थामा फेला परेका तीन बालकको शव अभिभावकले बुधवार पनि बुझेनन्।
पीडित अभिभावक, तुलसीपुर उमहानगरपाकिलाका मेयर घनश्याम पाण्डे, तुलसीपुर नगरका कार्यपालिका सदस्य तथा राष्ट्रिय दलित आयोगका केन्द्रीय अध्यक्ष देवराज विश्वकर्मा, इलाका प्रहरी कार्यालय तुलसीपुरमा प्रमुख डिएसपी शिबबहादुर सिंहबीच बुधबार भएको छलफलमा क्षतिपूर्तिबारे सहमति हुन नसकेपछि अभिभावकले शव बुझ्न नमानेका हुन्।
छलफलमा मेयर पाण्डेले तुलसीपुर नगरका तर्फबाट तत्कालका लागि किरिया खर्चस्वरूप प्रतिबालक २५ हजारका दरले उपलब्ध गराउने र थप क्षतिपूर्तिका लागि प्रदेश तथा संघीय सरकारलाई आग्रह गर्ने बताएका थिए।
त्यसमा पीडित अभिभावक सहमत नभएको र उनीहरूले तत्कालै प्रतिबडी दश लाखका दरले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने अडान नछोडेपछि कुरा नमिलेको छलफलमा सहभागिले सेतोपाटीलाई बताए।
‘पीडित पक्षले तत्कालै बालकको कसले हत्या गरेको हो, त्यो सार्वजनिक गर्नुपर्छ भन्ने अडान लिइरहनु भएको छ,’ डिएसपी सिंहले भने, ‘पोष्टमार्टम रिपोर्टले बालकको शरीरमा कुनै चोटपटक नलागेको भन्ने छ, मृत्युको अन्य कारणको खोजी गर्न भिसेरा काठमाडौं पठाएका छौं, भन्दा पनि उहाँहरु मान्नुहुन्न।’
तथ्य र प्रमाण बिना प्रहरीले जवरजस्ती कसैलाई पनि दोषी करार गर्न नमिल्ने डिएसपी सिंहले स्पष्ट पारे।
‘छलफलमा बसेका अर्का एक जना व्यक्तिले बालकको लाशमाथि राजनीति गर्ने प्रयास भइरहेको भन्दै त्यसो गर्नु अपराध भएको बताए। ‘लाशमाथि बार्गिनिङ कति ठिक हो,’ उनले भने, ‘हरेको बडीको दश/दश लाख रुपैंया तत्कालै देउ भन्नु कसरी सही हुन्छ?’
तीन बच्चाको एकै साथ मृत्यु अकल्पनीय र सबैलाई स्तब्ध बनाउने घटना भएको भन्दै उनले घटनामा यदि कसैको हात छ भने त्यो पत्ता लगाउन प्रहरीलाई सबैले निष्पक्ष अनुसन्धानका लागि सघाउनुपर्ने बताए ।
वैशाख १८ गते तुलसीपुर उपमहानगरपालिका-६ स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट आरजे ०१ सिसी ०८८५ नम्बरको कारभित्र तुलसीपुर ६ बरूवा निवासी भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्दीप परियार, सन्तोष परियारका छोरा ७ वर्षीय सुवास भनिने सूवर्ण परियार र किरण परियारका छोरा ६ वर्षीय करण परियार मृत अवस्थामा फेला परेका थिए।
प्रहरीले घटना अनुसन्धान गर्न बाँकेबाट तालिम प्राप्त कुकुर र प्राविधिक झिकाएको थियो भने शवको पोष्टमार्टमका लागि बुटवलबाट बिषेशज्ञ डाक्टर झिकाएको थियो।
पोष्टमार्टमा रिपोर्टले बालकको कर्तब्य गरि हत्या गरिएको नदेखिएको प्रहरीले जनाएको छ ।
पोष्टमार्टम रिपोर्टमा चिकित्सकले लास सडेगलेको हुँदा विषादी सेवन वा अन्य त्यस्तै कारणले मृत्यु भएको हो/होईन भनेर अनुसन्धान गर्न समस्या भएकाले भिसेरा परीक्षणको लागि मंगलबार नै काठमाडौं पठाइएको इप्रका तुलसीपुरका प्रमुख डिएसपी सिंहले बताए ।
प्रहरीले घटनाको दोस्रो दिन कारधनी तुलसीपुर ६ स्याउली बजार बस्ने ३३ वर्षीय यादवप्रसाद गैरे र सोही वडा बस्ने ५७ वर्षीय चालक पदमबहादुर बस्नेतलाई पक्राउ गरि ज्यान मुद्दा चलाएर अनुसन्धान थालेको छ।
चालक बस्नेत र गाडी धनि गैरेले माघ १ गते आफूहरूले उक्त कार लक गरि पार्किङमा राखेकाले आफूहरू घटनाबारे अनभिज्ञ रहेको प्रहरीसमक्ष वयान दिएका छन्।