भारतको राजधानी नयाँ दिल्लीमा थप एक साता लकडाउन हुने भएको छ।
मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार सरोकारवाला सबैको सुझावअनुसार एक साता लकडाउन लम्ब्याउने निर्णय गरेको बताएका छन्।
दिल्लीमा अब मे १७ सम्म कडा लकडाउन जारी रहने र मेट्रो रेल पनि बन्द रहने हिन्दुस्तान टाइम्सले जनाएको छ।
'गएका दुई-तीन दिनमा राजधानीमा संक्रमणको दर ३५ बाट २३ प्रतिशतमा झरेको छ,' मुख्यमन्त्री केजरीवालले भनेका छन्। यद्यपी यसलाई अझै नियन्त्रण गर्नु पर्ने भएकाले लकडाउन खोल्ने बेला भइनसकेको उनको भनाइ छ।
भारतमा कोरोनाको दोस्रो लहरले आक्रान्त राज्यमध्ये दिल्ली पनि एक हो।
शनिबारमात्रै दिल्लीमा १७ हजार ३६४ जना नयाँ संक्रमित थपिएका थिए भने ३ सय ३२ जना संक्रमितले ज्यान गुमाएका थिए।
दिल्लीमा अप्रिल २०मा लकडाउन सुरू भएको थियो। त्यसयता लकडाउन लम्ब्याइएको हो।