कोरोनाभारइसको दोस्रो लहरले आक्रान्त बनेको भारतमा पछिल्ला केही दिनमा दैनिक संक्रमितको संख्यामा कमी आए पनि मृत्युदर भने बढेको छ।
टाइम्स अफ इन्डियाका अनुसार पछिल्ला दिनमा भारतमा थपिएका कूल संक्रमितको एक प्रतिशतले ज्यान गुमाएका छन्।
आइतबासम्मका पछिल्ला सात दिनमा भारतमा २७ लाख ४० हजार मानिसलाई संक्रमण भएको थियो भने २७ हजारभन्दा बढीले ज्यान गुमाएका थिए। भारतमा कोरोना संक्रमणबाट एकैसातामा यति धेरै मानिसको मृत्यु भएको यो पहिलो पटक हो।
अघिल्लो साताभन्दा संक्रमितको संख्या ५ प्रतिशतले मात्र बढे पनि मृत्युदर भने १५ प्रतिशतले बढेको छ।
बितेका तीन दिनमा मृत्यु हुनेको संख्या नयाँ संक्रमितको संख्याको १ प्रतिशतभन्दा धेरै रह्यो।
आइतबार भारतमा ३ लाख ६६ हजार नयाँ संक्रमित थपिएका थिए। मे ६ मा एकैदिन अहिलेसम्मकै धेरै ४ लाख १४ हजार संक्रमित थपिएकामा त्यसपछिका दिनमा दैनिक संक्रमितको संख्या घट्दै गएको छ। संक्रमित घट्दै जाँदा दोस्रो लहरको संक्रमण 'पिक' मा पुगेर झर्न लागेको हो कि जस्तो देखिए पनि एकिनसाथ भन्न सकिन्न।
कैयौं दिनदेखि संक्रमण तीव्र भएका महाराष्ट्र, दिल्लीजस्ता राज्यमा संक्रमण घटे पनि केरला, पश्चिम बंगाल, उत्तराखण्डजस्ता राज्यमा अहिले संक्रमण उकालो लागिरहेको छ।