अमेरिकाको कोलोराडो राज्यस्थित एउटा घरमा भइरहेको बर्थ डे पार्टीमा बन्दुकधारीले गोली चलाउँदा सात जनाको मृत्यु भएको छ।
स्थानीय समयअनुसार आइतबार सबेरै क्यान्टरबरी मोबाइल होम पार्कमा बर्थडे पार्टी भइरहेका बेला आएका बन्दुकधारीले अन्धाधुन्ध गोली हानेर ६ जनाको हत्या गरेका थिए भने केहीबेरमा आफूलाई पनि गोली हानेका थिए।
प्रहरीले बन्धुकधारी र पीडितको परिचय खुलाएको छैन। बन्धुकधारी बर्थडे पार्टीमा सहभागी एक जना युवतीका प्रेमी रहेको खुलेको छ।
बर्थडे पार्टीमा केही बच्चाहरू पनि उपस्थित थिए तर उनीहरू सुरक्षित रहेको र अहिले आफन्तसँग बसिरहेको प्रहरीले जनाएको छ।
ती बन्दुकधारीले किन हत्या गरेका हुन भन्ने कारण खुल्न सकेको छैन।
यसअघि शनिबार मेरिल्याण्डको बाल्टिमोरमा भएको आगजनी र गोलीकाण्डमा परेर एक जना नेपालीसहित ४ जनाको मृत्यु भएको थियो।
अमेरिकामा नागरिकले खुलमखुला बन्दुक राख्न पाउने भएकाले बेलाबेला गोलीकाण्डका घटना भइरहन्छन्।