नेपालमा दोस्रो चरणको महामारी फैलाइरहेको नयाँ प्रकारको कोरोना भाइरस भारतबाट संसारका ४४ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ।
भारतमा गत अक्टोबर महिनामा पहिलोचोटि देखिएको कोरोना भाइरसको नयाँ प्रकारलाई ‘बी.१.६१७’ भनिएको छ। यो भाइरस विभिन्न देशबाट लिइएका ४ हजार ५ सयभन्दा बढी नमूनामा फेला परेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले लेखेको छ।
डब्लुएचओद्वारा जारी साप्ताहिक अपडेट उद्धृत गर्दै एएफपी भन्छ– नयाँ प्रकारको भाइरसले संक्रमित कोभिड बिरामी भारतबाहेक बेलायतमा सबभन्दा बढी पाइएका छन्।
अघिल्लो साता मात्र डब्लुएचओले नयाँ कोरोना भाइरसको स्वभाव पहिलेभन्दा फरक र डरलाग्दो रहेको जनाउँदै यसलाई चासो र सतर्कताका साथ हेर्नुपर्ने बताएको थियो।
गत वर्ष चीनको वुहानबाट कोरोना भाइरसको महामारी फैलिएयता अहिलेसम्म यसका चार नयाँ प्रकार फेला परिसकेका छन्। सबभन्दा पहिला ब्राजिलमा नयाँ प्रकारको कोरोना भाइरस फेला परेको थियो। त्यसपछि ब्राजिल र दक्षिण अफ्रिकामा नयाँ प्रकारका भाइरस पाइए। भारतमा पाइएको नयाँ प्रकार त्यसैको निरन्तरता हो।
यी चार नयाँ प्रकारका भाइरस पहिलेको दाँजोमा आक्रामक ढंगले फैलिने र यसको संक्रमण पनि पहिलेभन्दा खतरनाक भएको विज्ञहरूले बताएका छन्। अहिले संसारभरि प्रयोगमा रहेका खोप नयाँ प्रकारका भाइरससँग लड्न कत्तिको सक्षम छन् भन्ने प्रस्ट भइसकेको छैन।
कोरोना खोपले मानिसको शरीरमा विकास गर्ने एन्टिबडी नयाँ प्रकारको भाइरससँग लड्न खासै प्रभावशाली नदेखिएको पनि प्रारम्भिक अनुसन्धानहरूले देखाएका छन्।
यही कारणले दोस्रो चरणको महामारीमा भारतको संक्रमित र मृत्युदर उच्च छ। भारत अमेरिकापछिको दोस्रो सबभन्दा प्रभावित देश हो। यहाँ झन्डै २ करोड ३० लाख कोभिड–१९ का संक्रमित छन्। प्रतिदिन तीन लाख हारहारी नयाँ बिरामी थपिएका छन् भने मृत्युदर दैनिक चार हजार आसपास छ।
यस्तै अवस्था नेपालको छ, जहाँ केही सातादेखि परीक्षण गरिएका करिब ४५ प्रतिशतमा कोरोना पोजेटिभ देखिन थालेको छ। मृत्युदर दैनिक वृद्धि हुँदैछ। धेरै दिनसम्म दैनिक ५० हाराहारी बिरामीले कोरोनाका कारण ज्यान गुमाउने गरेका थिए। दुई–तीन दिनयता उच्च वृद्धि भएर मंगलबार एकै दिन २ सय २५ जनाले ज्यान गुमाए। यो अहिलेसम्मकै सबभन्दा बढी हो।
डब्लुएचओले भारतमा कोरोना संक्रमण उच्च वृद्धि हुनुमा नयाँ प्रकारको भाइरस सँगसँगै थुप्रै धार्मिक तथा राजनीतिक गतिविधिहरूलाई कारण भनेको छ। यस्ता धार्मिक तथा राजनीतिक भेलामा एकैचोटि दसौं हजार मान्छे सहभागी थिए।
भारतको महामारी तीव्र हुनुको अर्को कारण, त्यहाँ संसारभरि फेला पारेका सबै प्रकारका कोरोना भाइरस संक्रमण देखिएको छ। बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा फेला परेको कोरोना भाइरसको नयाँ प्रकार पनि भारतमा उल्लेख्य रूपमा पाइएका छन्।