भारतको विहार राज्यमा मे २५ सम्मका लागि लकडाउन लम्ब्याइएको छ।
बिहीबार मुख्यमन्त्री नितिश कुमारले ट्विट गर्दै विहारमा मे २५ सम्मका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको बताए।।
विहारमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन मे १५ गते सकिँदै थियो।
मुख्यमन्त्री नितिशकुमारले लकडाउन गर्दा संक्रमण रोक्न सकारात्मक प्रभाव परेको बताएका छन्।
'आज मन्त्री र पदाधिकारीहरूसँग विहारमा जारी लकडाउनको स्थितिबारे समीक्षा गरियो। लकडाउनको सकारात्मक प्रभाव देखिएको छ। त्यसैले विहारमा आउँदो १० दिन अर्थात् १६ मे देखि २५ मे २०२१ सम्म लकडाउन लम्ब्याउने निर्णय लिइएको छ,' उनले ट्विटरमा लेखेका छन्।
गत मे ४ गते विहार सरकारको संकट व्यवस्थापन समूहले १० दिन लकडाउन गर्ने निर्णय लिएको थियो।
भारतको अर्को राज्य महाराष्ट्र सरकारले पनि लकडाउन लम्ब्याउने निर्णय गरेको छ।
बिहीबार सरकारले जुन १ सम्मको लागि लकडाउन लम्ब्याउने निर्णय गरेको हो। त्यँहा पनि बढ्दो कोरोना भाइरसको जालोलाई तोड्न मे १५ सम्मको लागि लकडाउन गरिएको थियो।
हिन्दुस्तान टाइम्सका अनुसार बिहीबार महाराष्ट्र सरकारले राज्यमा प्रवेश गर्न पिसिआर रिपोर्ट नेगेटिभ अनिवार्य गरेको छ। जुनसुकै सवारीसाधनबाट महाराष्ट्र प्रवेश गर्नेलाई अनिवार्य पिसिआर रिपोर्ट नेगेटिभ चाहिने जनाएको हो।
बुधबारमात्रै महाराष्ट्रमा ३० हजार बढी सक्रिय संक्रमित थिए। महाराष्ट्र सबैभन्दा धेरै संक्रमित भएको राज्यमध्ये एक हो।