भारतको दक्षिणी भेगमा 'ताकते' चक्रवातका कारण चार जनाको मृत्यु भएको छ।
आइतबार आएको चक्रवातका कारण कर्नाटकामा चार जनाको मृत्यु भएको कर्नाटका राज्य संकट व्यवस्थापन अधिकारीले जनाएका छन् भने चक्रवातको असर ७३ वटा गाउँमा परेको छ।
साथै कर्नाटकाका ६ वटा जिल्लामा भारी वर्षात समेत भएको छ।
यो चक्रवात भावनगर जिल्लाको पोर्बान्दर र महुभाबीचको गुजरात किनारा पार गर्ने भारतीय मौसम विभागले जनाएको छ। गुजरातमा अहिले 'एल्लो अलर्ट' जारी गरिएको छ।
विभागका अनुसार पछिल्लो ३ घण्टामा यो चक्रवातले झन् तीव्र गति लिएको छ।
चक्रवातले गोवाका किनारा क्षेत्रमा पनि असर पारेको छ। तीव्र गतिको हावाले त्यहाँ रूखहरू ढाल्दा बाटो अवरोध भएको देखिन्छ। ठूला रूख ढल्दा केही निजी सम्पत्तिमा पनि क्षति पुगेको देखिन्छ। केही रूख गाडीमा पनि ढलेको देखिन्छ।
त्यस्तै, गोवा मेडिकल कलेजमा विद्युत समेत अवरूद्ध भएको छ। कोभिड-१९ का बिरामीको उपचार भइरहेको उक्त मेडिकल कलेजमा अहिले ब्याकअप पावर सप्लाइबाट सञ्चालन भइरहेको इन्डिया टुडेले जनाएको छ।
बिरामीको उपचारमा भने अवरोध नपुगको जनाइएको छ।
चक्रवात आएपछि भारतका गृहमन्त्री अमित शाहले महाराष्ट्र र गुजरातका मुख्यमन्त्रीसँग कुराकानी गरेका छन्।
प्रदेश सरकारले चक्रवातसँग जुध्न आवश्यक सामग्री जुटाएको/नजुटाएकोबारे बुझ्न गृहमन्त्री शाहले छलफल गरेका थिए।