रुकुम पूर्वका एक हजार घरधुरी केन्द्रीय विद्युत् लाइनको पहुँचमा पुगेका छन्।
तीन वटा गाउँपालिका रहेको यस जिल्लाका दुई गाउँपालिकाका एक हजार घरधुरीमा विद्युत् विस्तारको काम गरिएको छ।
सिस्ने गाउँपलिकाको दुई वटा वडा र भूमे गाउँपलिकाको तीन वटा वडामा केन्द्रीय लाइनको विद्युत् पुगेको प्राधिकरण वितरण शाखा रुकुम पूर्वले जनाएको छ।
अहिलेसम्म सिस्ने–५ को ९५ प्रतिशत ठाउँमा विद्युतीकरण भइसकेको प्राधिकरण वितरण शाखा कार्यालयका प्रमुख युवराज रावतले बताए।
वडा नं ५ को दुधिल्ला गैरामा शनिबार मात्रै विद्युतीकरण भएको छ। अब ह्याप्ला लगायतका केही ठाउँमा मात्र विद्युत् विस्तारको काम बाँकी रहेको रावतले बताए।
यस्तै वडा नं ६ को पनि ८० प्रतिशत ठाउँमा विद्युतीकरण भइसकेको छ।
वडा नं ६ को छिप्रीदह बाहेकको सबै ठाउँमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भइसकेको कार्यालयले जनाएको छ। छिप्रीदहमा भने अहिले बाफीकोट गाउँपालिका रुकुम पश्चिममा रहेको नवभिजन सहकारी संस्थाको बिजुली बलिरहेको छ।
यस्तै, भूमे गाउँपालिकाको वडा नं ५ पूर्णरूपले विद्युतीकरण भइसकेको छ।
वडा नं ४ को पनि ६० प्रतशित घरधुरीमा प्राधिकरणको बिजुली बलेको कार्यालय प्रमुख रावतले बताए।
उनका अनुसार भूमे–२ मा भने गाउँपालिकाको केन्द्र खाबाङ बगरमा मात्र विद्युतीकरण भएको छ।
अन्य ठाउँमा ग्राहकको मागअनुसार प्राथमिकताका आधारमा विद्युत् विस्तार गरिने छ।
यस लगत्तै कार्यालयले सिस्ने–३ को पोखरा र पाँगाका साथै भूमेको काँक्री हुँदै पुथाउत्तरगङ्गा गाउँपलिकाको क्युवाङ र तकसेरामा केन्द्रिय लाइनको विद्युत् विस्तार गरिने छ।
यहाँको भौगोलिक बनावट र छरिएर रहेका बस्तीहरुले गर्दा काम गर्न भने केही समस्या भएको कार्यालयले जनाएको छ । टाढाटाढा छरिएर रहेका बस्तीले गर्दा स्रोत साधन पनि धेरै लाग्ने र काम गर्न पनि समस्या हुने गरेको छ। रासस