अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभावका कारण सगरमाथासहितको हिमाल आरोहण प्रभावित भएको छ।
मौसम अनुकूल नहुँदा बिहीबारदेखि नै सगरमाथा आरोहण प्रभावित भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन्।
‘मौसम प्रतिकुल हुँदा अहिले आरोहण भएको छैन’, आधार शिविरबाट आचार्यले भनिन्, ‘यतिबेला सयौं आरोही आधार शिविरमा अनुकूल मौसमको पर्खाइमा हुनुहुन्छ।’
यस वर्ष बसन्त यामको सगरमाथा आरोहण गत वैशाख २४ गतेदेखि सुरू भएको थियो।
उक्त दिन शेर्पा आरोहीको टोलीले बाटो बनाउने क्रममा शिखर पुगेसँगै व्यवसायिक आरोहण सुरू भएको पर्यटन विभागले जनाएको छ। त्यसपछि वैशाख २८ र २९ गते सयौं आरोही सगरमाथाको शिखरमा पुगेका थिए। यो समयमा दुई विदेशी आरोहीको मृत्यु भएको छ।
दुई दिनमा करिब १५० भन्दा बढी आरोहीले सगरमाथाको शिखरमा पाइला टेक्न सफल भएको अनुमान गरिए पनि कोरोना सङ्क्रमणका कारण यकिन तथ्यांक संकलनमा समस्या भएको निर्देशक आचार्यको भनाइ छ।
उनका अनुसार आमादब्लम हिमालको आरोहण सकिएको छ भने लोत्से, नुप्त्से लगायतको हिमाल आरोहण हुने क्रम जारी छ।
मौसम अनुकूल नहुँदा वैशाख ३० गतेदेखि आरोहण प्रभावित भएको भन्दै उनले सबैलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको बताइन्। मौसम अनुकूल हुने बित्तिकै पुनः शिखरतर्फ जाने क्रम सुरू हुने उनको भनाइ छ।
तत्काल हिमाल आरोहण नगर्न/नगराउन मौसमविद्को सुझाव
अरब सागरको आँधीको प्रभाव नेपालमा पनि देखिने भएको हुँदा तत्काल हिमाल आरोहण नगर्न/नगराउन मौसमविद्ले सुझाव दिएका छन्।
मौसमविद् मीनकुमार अर्यालका अनुसार हिमाल आरोहणमा गएकाहरू यो समयमा आधार शिविरभन्दा माथि नजाँदा राम्रो हुनेछ।
यसको प्रभाव पश्चिमबाट क्रमैसँग पूर्वतर्फ सर्दै गएको हुँदा बिहीबारदेखि यसबारे प्रभाव बढी देखिने हुँदा उच्च सतर्कता अपनाउन आवश्यक रहेको उनको भनाइ छ।
‘भोलि पर्सिसम्म हिमालको माथिल्लो क्षेत्रमा गएकाहरू आधार शिविरमा झर्ने या सुरक्षित स्थानमा बस्नुपर्ने हुन्छ’, मौसमविद् अर्यालले भने, ‘यो समयमा उच्च वेगको हावा, पानी र हिमपात हुने सम्भावना हुन्छ, त्यसैले सतर्कता अपनाउन आवश्यक छ।’
यस वर्षको बसन्त याममा सगरमाथासहितका हिमाल आरोहणका लागि ८५ समूहका ७४२ आरोहीले अनुमति पाएका छन्। रासस