चितवनमा अक्सिजन अभाव हुन थालेपछि यहाँका अस्पतालले प्लान्टको क्षमता विस्तार गर्न थालेका छन्।
बाहिरी जिल्लाबाट अक्सिजन आउन छाडेपछि मागअनुसार अक्सिजन पुर्याउन कठिन भएपछि यहाँका दुई मेडिकल कलेज र भरतपुर अस्पतालले प्लान्ट विस्तार गर्न लागेका हुन्।
जिल्लामा कोरोनाको उपचार गराइरहेका दुई सरकारी र दुई मेडिकल कलेजमा आफ्नै प्लान्ट भए पनि बिरामीको सङ्ख्या बढेपछि उद्योगबाट अक्सिजन ल्याउनु पर्ने बाध्यता रहेको छ।
पुरानो मेडिकल कलेजले गैंडाकोटमा रहेको आफ्नो प्लान्टलाई विस्तार गर्दैछ।
अस्पतालका आवासीय निर्देशक डा मनोहर प्रधानले २४ घण्टामा ४०० सिलिण्डर उत्पादन हुँदै आएकामा २०० सिलिण्डरको क्षमता थप गर्न लागिएको बताए।
उद्योगमा यसअघिनै प्लान्ट भएको भन्दै उनले ट्रान्सफर्मर र स्टेपलाइजर जडान गरी यसै हप्ता थप उत्पादन गर्ने तयारी गरिएको उनले जानकारी दिए। सो मेडिकल कलेजमा हाल दैनिक ३०० सिलिण्डर आवश्यक पर्ने गर्दछ।
चितवन मेडिकल कलेजले एक दिनमा ६०० सिलिण्डर उत्पादन हुने नयाँ प्लान्ट ल्याउँदै छ।
अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले एलसी खोलेर प्रक्रिया अघि बढेको बताए।
उनले भने, ‘एक साताभित्र सामान जडान हुने अपेक्षा लिएका छौं।’
हाल अस्पतालको प्लान्टले २०० सिलिण्डर अक्सिजन हाराहारी उत्पादन गर्दै आएको छ। बिरामीको चाप बढेपछि हाल दैनिक ४०० सिलिण्डर अक्सिजनबाहिरबाट ल्याउनुपरेको छ।
भरतपुर अस्पतालले नयाँ प्लान्ट थप गर्ने तयारी गरेको छ।
अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार स्वास्थ्य मन्त्रालयबाट रु १२ करोड बजेट आउने भएकाले छिट्टै प्रक्रिया अघि बढाइँदै छ।
दैनिक थप २४० सिलिण्डर उत्पादन हुने गरी प्लान्ट जडान गर्न लागिएको उनको भनाइ छ। भरतपुर अस्पतालमा हाल रहेको प्लान्टले दैनिक ७५ सिलिण्डर अक्सिजन उत्पादन गर्छ भने खपत २०० भन्दा बढी रहेको छ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार दैनिक एक हजार २०० सिलिण्डर जिल्लाका अस्पतालहरूमा आवश्यक पर्दछ।
यहाँका चार अस्पताल र एउटा निजी उद्योगको गरी ८८० सिलिण्डर मात्रै उत्पादन हुँदै आएको छ । दैनिक ३२० सिलिण्डर अक्सिजन जिल्लामा अपुग भएको उनले जानकारी दिए।
जिल्लाको तथ्याङ्कलाई हेर्दा यहाँका अस्पताल र घरायसी प्रयोजनका लागि ६८० सिलिण्डर दैनिक अभाव हुने गरेको छ।
यहाँ रहेको एकमात्र अक्सिजन ग्यास उद्योग स्वर्गद्वारीको दैनिक उत्पादन ३६० सिलिण्डर भए पनि दैनिक ३२० सिलिण्डर बाहिरी जिल्लाको भर पर्नुपरेको छ।
यसअघि बालाजु काठमाडौं र रुपन्देहीमा प्लान्ट भएको शङ्कर ग्यास उद्योग र परवानीपुरमा प्लान्ट भएको भाजुरत्न इञ्जिनियरिङ एण्ड सेल्सबाट अक्सिजन आउने गरेको भए पनि यतिबेला स्थानीयस्तरमै खपत भएर आउन छाडेपछि यहाँ अभाव भएको हो।
जिल्लाका अस्पतालमा ५० प्रतिशतभन्दा बढी बाहिरी जिल्लाका सङ्क्रमितले उपचार गराइरहेका छन्।
छिमेकी जिल्लाबाट सङ्क्रमित पठाउने तर अक्सिजन आउन नदिने हुँदा समस्या भएको छ।
हालसम्म भने जिल्ला र बाहिरबाट जुटाएर बिरामीका लागि अक्सिजन पुर्याइँदै आएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए।
उनले भने, ‘जसरी भए पनि अहिलेसम्म बिरामीलाई अक्सिजनको अभाव हुन दिएका छैनौं।’रासस