नेपाल विद्यार्थी संघ दाङका नेता तिलक रावत स्कुटीको अगाडि एउटा प्याक गरेको गत्ताको कार्टुन थियो।
उनी आएर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अगाडि आएर रोकिए। बुधबार दिउँसोको एक बज्दै थियो। उनी बिरामी र त्यहाँ कार्यरत चिकित्सक अनि स्वास्थ्यकर्मीका लागि खाने कुरा लिएर आएका थिए।
कोभिड-१९ को महामारीले सर्वत्र त्रास छ। अस्पताल तथा आइसोलेसनमा उच्च सर्तकता अपनाइएको छ। प्रतिष्ठानको आइसोलेसन गेटमा केहीबेर कुरा गरेपछि गेट खुल्यो। रावतले स्कुटरमा राखेको गत्ताको काटुर्न उठाएर भित्र लगे।
अस्पताल प्रशासनका पदाधिकारी आए। त्यसपछि रावतले गत्ता खोले। त्यो गत्ताभित्र खाजाका प्याकेट थिए।
उनीहरूले यसरी कोरोना संक्रमित बिरामी र उनीहरूको सेवामा खटिँदै आएका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि पोशिलो र झोलिलो खाना खुवाउन थालेको आज हप्ता दिन बढी भइसकेको छ।
महामारीको समयमा त्यसविरूद्ध लडिरहेका स्वास्थ्यकर्मी र बिरामीको मनोबल बढाउन रावतले साथी भाइसँग मिलेर नि:शुल्क रूपमा यसरी खाजा र खाना वितरण गर्दै आएको बताए।
‘अहिलेको विषम परिस्थितिमा जो जहाँ छ, त्यहीँबाट समाज र राष्ट्र संकटमा परिरहेको बेलामा सहयोग गरौं भन्ने हाम्रो धारणा हो,’ रावतले भने, ‘बिरामीको स्वास्थ्यमा सुधार होस्, उहाँहरूको मनोबल बढोस् र हाम्रो सानो कामले समाजलाई पनि प्रेरित गरोस् भन्ने हाम्रो चाहना हो।’
नेपाल विद्यार्थी संघका साथीहरू मिलेर आफैं स्रोत साधन संकलन गरी जुटाउने र आफैं खाना पकाएर उनीहरू जिल्लाका विभिन्न अस्पतालमा पालैपालो खाजा र खाना पुर्याउँदै आएको रावतले बताए।
विद्यार्थी नेता रावतले भने,‘सकेसम्म बिरामीका लागि नयाँ र पोशिलो खाने कुरा कसरी जुटाउन सकिन्छ भनेर हामी आपसमा सरसल्लाह गर्छौं।’
हालसम्म खर्चको व्यवस्थापन उनीहरू आपसमा मिलेर गरिरहेको रावतले बताए।
यस्तै, देश विदेशमा रहेका साथीहरूले समेत सहयोगको लागि हात बढाएका छन्।
सुरूमा १५ दिनका लागि भनेर आफूहरूले अभियान थालनी गरेको बताएका रावतले त्यसपछिको अवस्था हेरेर थप निर्णय गरिने जानकारी दिए।
भने, ‘ हाम्रो आर्थिक अवस्थाले धान्ने/नधान्ने कस्तो अवस्था हुन्छ, त्यो हेरेर हामी थप निर्णय गर्नेछौं।’
त्यस्तै, घोराहीकै युवा सञ्जिव पछाँईको संयोजकत्वमा अर्को एउटा युवा समूहले पनि विगत दश दिनदेखि नियमित रूपमा बिरामीलाई पौष्टिक आहार नि:शुल्क रूपमा उपलब्ध गराउँदै आएको छ।
आफूहरूले कोरोना विशेष अस्पताल बेलझुण्डी र लमही अस्पतालको आइसोलेसनमा रहेका बिरामीलाई दैनिक रूपमा पौष्टिक आहार नि:शुल्क रूपमा दिँदै आएको संयोजक पछाँईले बताए।
त्यस्तै, जिल्लाकै दंगिशरण गाउँपालिका युवाहरूले पनि यस्तै सामाजिक सेवामा जुटिरहेका छन्।
महामारीको कठिन समयमा बिरामीलाई पौष्टिक खाना खुवाउने अभियानमा लागेको अभियानका अध्यक्ष राघब देवकोटाले जानकारी दिए।
उनीहरूले दंगिशरण गाउँपालिकाको आइसुलेनमा रहेका संक्रमितलाई खाना खुवाउन ‘एक हजार हाम्रो अभियान’को थालनी गरिएको अर्का एक अभियान्ता प्रमोद आचार्यले बताए।
कोरोना संक्रमित र ड्युटीमा खटिने कर्मचारीलाई पोसिलो खाना खुवाउने अभियान सुरू गरेपछि धेरैले धन्यवाद दिने गरेको आचार्यले बताए।
वैशाख ३० गते उनीहरूले यो अभियान सुरू गरेको र महामारी अन्त्य नहुँदासम्म जारी राख्ने प्रयत्न गरिने बताएका छन्।