भारतमा ताउ-ते सामुद्रिक आँधीका कारण पश्चिम दक्षिणका केही राज्यहरूको जन-जीवन प्रभावित भएको छ।
सोमबार गुजरातमा जमिनमा आइपुगेको आँधीले मच्चाएको बितन्डामा परी अहिलेसम्म ९० जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने कैयौं मानिसहरू अझै हराइरहेका छन्।
आँधीसँगै विभिन्न स्थानमा भारी वर्षा भएको थियो भने समुद्रमा ८ मिटरसम्म अग्ला छाल आएका थिए। वर्षा र हुरीले सडकमा रूख ढालिदिएको छ भने मानिसहरूका घर र बिजुलीका पोल पनि भत्किएका छन्।
कोरोनाभाइरसको दोस्रो लहरले आक्रान्त भएको भारतमा ताउ-तेले बितन्डा मच्चाएपछि कतिपय ठाउँमा खोप कार्यक्रम पनि प्रभावित भएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेका छन्।
भारतीय मौसमविद्हरूका अनुसार बुधबारदेखि ताउ-तेको प्रभाव कम हुँदै गएको छ। अरेबियन सागरमा बनेको ताउ-ते कमजोर हुँदै गए पनि अर्को साता भारतको पूर्वी क्षेत्रमा अर्को सामुद्रिक आँधी आउन लागेको छ। मौसमविद्हरूका अनुसार बंगालको खाडी नजिक बनिरहेको आँधी अर्को साता उडिसा र पश्चिम बंगाल आइपुग्नेछ।