बाँकेका विभिन्न अस्पतालमा उपचाररत २८ वर्षीया महिलासहित थप आठ संक्रमितको गएराति मृत्यु भएको छ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा सात र शिक्षण अस्पताल कोहलपुरमा एक गरी आठ संक्रमित बिरामीको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।
उनका अनुसार भेरी अस्पतालमा उपचाररत डुडुवा गाउँपालिका-५ बाँके निवासी २८ वर्षीया महिला, खजुरा गाउँपालिका–३ निवासी ८५ वर्षीय पुरूष, बाँसगढी नगरपालिका–४ बर्दिया निवासी ४२ वर्षीय पुरूष र तुलसीपुर उपमहानगरपालिका–३ दाङ निवासी ६५ वर्षीय पुरूषको गएराति उपचारका क्रममा कारण मृत्यु भएको हो।
यसैगरी, भेरी अस्पताल नेपालगञ्जमै उपचाररत बढैयाताल गाउँपालिका-८ बर्दिया निवासी ४५ वर्षीय पुरूष, घोडाघोडी नगरपालिका-४ कैलाली निवासी ४५ वर्षीय पुरूष र गुलरिया नगरपालिका-४ बर्दिया निवासी ६१ वर्षीया महिलाको पनि मृत्यु भएको छ।
शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा राप्तीसोनारी गाउँपालिका-६ बाँके निवासी ५४ वर्षीय पुरूषको आज बिहान १ः२० बजे मृत्यु भएको छ।
यससँगै कोरोना भाइरस संक्रमणका कारण हालसम्म बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका २१४ र जिल्लाकै २५६ गरी ४७० जनाको मृत्यु भइसकेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताए।रासस