प्यूठानमा घर भत्किँदा बुवा, आमा र छोराको मृत्यु भएको छ।
जिल्लाको नौबहिनी गाउँपालिका वडा नं. १ स्याउलिबाङ चौतारामा घर भत्किँदा ४० वर्षीय बोमबहादुर मल्ल, उनकी ३३ वर्षीया श्रीमति गमी मल्ल र उनीहरूका ३ वर्षीय छोरा शिशीर मल्लको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देविप्रसाद गैरेका अनुसार घटना राति घटेको हो।
‘घटना राति नै भएको हुनुपर्छ, तर, कतिखेर भयो भन्ने एकिन छैन,’ गैरेले सेतोपाटीसँग भने, ‘बिहान साढे ७ बजे मात्रै मामा घरबाट जेठी छोरी फर्किएर आएपछि घटनाबारे थाहा भएको हो।’
मल्लकी जेठी छोरी (अन्दाजी १६ वर्षीया) शनिबार बेलुका नै मामा घर गएकी थिइन्। उनी बिहान घर फर्किदा बुबा आमा नदेखेपछि छरछिमेकलाई खोजीका लागि गुहार मागेकी थिइन्। गैरेका अनुसार प्रहरी घटनास्थल पुग्दा तीनै जनाको मृत्यु भइसकेको थियो।
गैरेले सोही घरको छुट्टै कोठामा सुतेका मल्लका थप ३ छोरीहरू भने सकुशल रहेको जानकारी दिए। अन्दाजी ८ देखि १०,११ वर्षका छुट्टै तीन छोरी भने अलगै कोठामा सुतेको र उनीहरुले घटनाबारे बिहानसम्म थाहा नपाएको अवस्था देखिएको जिल्ला प्रहरी प्रवक्ता गैरेले जानकारी दिए।
प्रहरीका अनुसार मल्ल परिवारले फुस (खर) को छाना हटाएर जस्तापाता लगाउन शनिबार मात्रै छाना निकालेका थिए। दिउँसो पानी परे पनि राति पानी परेको थिएन। मल्ल परिवार सोही घरमा माथि त्रिपाल राखेर सुतेका थिए।
त्यसरी सुतेका बुबा, आमा र छोरालाई माथिल्लो तला खसेर प्यापेपछि मृत्यु भएको भए पनि अर्कौ छुट्टै कोठामा सुतेका बच्चाहरूले घटनासमेत थाहा नपाएको प्रहरीले जनाएको छ ।
‘छुट्टै कोठमा सुतेका तीन साना छोरीहरू घटनाबारे अनभिज्ञ रहेछन्,’ गैरेले भने, ‘सोही घरमा सुतेका मल्लका तीन छोरी र मामा घर गएकी जेठी छोरी गरि चार जना सकुशल छन्।’
शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल बिजुवारमा लगिने प्रहरी प्रवक्ता गैरेले जानकारी दिए।