अष्ट्रेलियामा लाखौं मुसाले आतंक मच्चाएका छन्। पछिल्लो ६ महिनायता अष्ट्रेलियाको न्यू साउथ वेल्सका मानिसहरूलाई लाखौं मुसाले आतंक मच्चाएका हुन्।
अहिले न्यु साउथ वेल्समा जताततै मुसा देखिन थालेका छन्। घरको सिलिङ, खेत, विद्यालय, अस्पताललगायत ठाउँमा मुसाको बिगबिगी छ।
'मुसाको महामारी'ले लाखौं डलर क्षति भएको द गार्डियनले जनाएको छ। यस महामारीले धेरैको सम्पत्ति र धानबालीमा क्षति पुर्याएको छ।
यसरी मुसाले आतंक मच्चाएपछि अष्ट्रेलियाको न्यु साउथ वेल्सका कृषि मन्त्री एडम मार्शलले ५ करोड डलरको राहत प्याकेज घोषणा गरेका छन्। साथै विश्वकै सबैभन्दा खतरनाक मुसा मार्ने विषको लागि फास्ट ट्र्याक अनुमति लिने तयारी गरिएको छ।
अष्ट्रेलियाका उपप्रधानमन्त्री माइकल मिककोर्म्याकले मुसाविरूद्ध युद्ध नै सुरू गर्ने बताए।
'अब राम्रो मुसा भनेकै मरेको मुसा हो,' उनले भने।
गत बिहीबार अष्ट्रेलियाको च्यानल १० न्युज सिलड्नीले टेलिभिजनमा देखाएको रिपोर्टमा मुसाले मच्चाएको आतंक अब सिड्नीतर्फ लाग्ने बताइएको थियो।
सरकारले भारी वर्षात र चिसो मौसम आएपछि नयाँ बाली लगाउनु अघि नै मुसा घट्ने अनुमान गरेको थियो। तर मुसाको संख्या एक्कासै बढेको हो।
जसले गर्दा वेल्सको फार्मर्स एसोसिएशन र वुमेन्स एसोसिएशन अफ न्यू साउथ वेल्सले मुसाको आतंकलाई 'माउस प्लेग' अर्थात् मुसा महामारीको रूपमा लेबल गरेको थियो।
साथै यी दुई संस्थाले मुसाको आतंकलाई नियन्त्रण गर्न सरकारलाई हस्तक्षेप गरिदिन भन्दै तत्काल आर्थिक, स्वास्थ्य आपतकालको घोषणा गर्न माग गरेको थियो।
त्यसपछि वेल्स सरकारले संघीय सरकारको अष्ट्रेलियन किटनाशक र पशु चिकित्सा औषधि प्राधिकरणलाई एन्टी-कोएगुल्यान्ट बैट ब्रोमाडिओलोन नामक मुसा मार्ने औषधि प्रयोगको लागि अनुमति मागेको थियो। सो विष अहिले खेतमा प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ। उनीहरूले करिब ५ हजार लिटरको विष हाल्ने तयारी गरेको हो। जसको एकै डोजले मुसा मार्ने योजना वेल्स सरकारको छ।
'यो केमिकल, विषले यी मुसालाई २४ घन्टामा सिध्याउँछ,' मन्त्री मार्शलले भनेका थिए।
वैज्ञानिक अनुसन्धान गर्ने कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेशनका प्रमुख डा. पिटर ब्राउनका अनुसार ब्रोमाडिओलोन विष मुसाले खाए मरेपछि पनि त्यसको शरिरमा बस्छ। जसकारण अरू जनावरमा पनि असर पर्ने होकी भन्ने चिन्तासमेत व्यक्त गरिएको छ।
मुसालाई मार्दा जनावर तथा पन्छीको खाद्य श्रृंखलामा असर पर्ने उनले बताए।