दाङमा एक कारभित्र तीन बालकको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान सकेको छ।
ती बालकहरूको निसासिएर मृत्यु भएको भिसेरा रिपोर्टले देखाउँछ।
गत वैशाख १८ गते तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लटे आर जे ०१ सिसी ०८८५ को कारभित्र तीन बालकको शव फेला परेको थियो।
ती बालकहरू तुलसीपुर ६ बरूवा गाउँका थिए।
उनीहरू स्थानीय भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्दीप परियार, सन्तोष परियारका छोरा ७ वर्षीय सुवास भनिने सूवर्ण परियार र किरण परियारका छोरा ६ वर्षीय करण परियार थिए।
ती बालकहरूको कारभित्र निस्सासिएर मृत्यु भएको भिसेरा रिपोर्टले देखाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए।
‘एक/दुई दिनअगाडि मात्रै रिपोर्ट आयो। रिपोर्टमा निस्सासिएर ती बालकहरूको मृत्यु भएको भन्ने छ,’ उनले भने, ‘अक्सिजन अभाव र कार्वनमोनोअक्साइडले गर्दा निस्सासिएर उनीहरूको मृत्यु भएको रिपोर्टमा उल्लेख छ।’
बालरोग बिशषेज्ञ डा. किशोर खत्रीले निस्सासिएर सहजै बालबालिकाको मृत्यु हुन सक्ने सम्भावना रहने बताए। ‘अक्सिजनको अभावले मस्तिष्कले काम गर्न छोड्छ र मानिसको मृत्यु हुन्छ,’ उनले भने।
उक्त कार सञ्चालकका अनुसार त्यो कार गत माघ १ गतेदेखि पार्किङ गरेर राखिएको थियो। लामो समयदेखि पार्किङ गरिराखेको कारभित्र खेल्दै गएका बालकहरू प्रवेश गरेर त्यहाँ गाडीमा चुहिएको मोविललगायत चलाउँदा मोनोअक्साइड ग्यास निस्केको हुन सक्ने अनुमान छ।
ती बालकका अभिभावकसँग कसैको पनि दुश्मनी नदेखिएको प्रनाउ सिंहको भनाइ छ।
एक बसका चालक अरूण बुढा मगरले गत वैशाख १८ गते साँझपख करिब ६ बजेति पार्किङ गरिराखेको उक्त कारमा बत्ति बलेको देखेपछि हेर्न जाँदा तीन बालकको शव देखेका थिए।
आसपासमा घर रहे पनि कार खुला चौरमा पार्किङ गरिराखेको थियो। त्यो कारको नजिकै १५ मिटर पश्चिमतर्फ मगरले बस पार्किङ गरिराखेका थिए।
त्यहाँ ट्याङ्करले पानी ल्याएपछि बाटो छाडिदिनुपर्ने भएकोले बस अन्यत्रै पार्किङ गर्न लाग्दा नजिकैको कारमा बत्ति बलेपछि मगर हेर्न गएका थिए।
बन्द गरिराखेको कारमा आफैँ बत्ति बल्न सक्छ? यसबारे प्रहरीले अनुसन्धान पनि गरेको छ। एक जना मेकानिकल ईञ्जिनियर झिकाएर यसबारे सोधिएको प्रहरी बताउँछ।
ती बालकहरू कारभित्र गएपछि कारभित्रका तारहरू चलाउँदा र व्याट्री लो हुँदा कहिलेकाहीँ बत्ति बल्न सक्ने कारण ती मेकानिकल ईञ्जिनियरको थियो।
प्रहरीले घटनाबारे अनुसन्धान सकेर अदालतमा मिसिल बुझाएको छ। भिसेरा रिपोर्टले निस्सासिएर तथा पोस्टमार्टम रिपोर्टले कतै चोटपटक नलागेको देखिएको प्रनाउ सिंह बताउँछन्।
बालकहरू खेल्दै कारभित्र प्रवेश गरेको र भित्रबाट ढोका लक हुँदा उनीहरू बाहिर निस्कन नसकेको अनुसन्धानबाट देखिने सिंहको भनाइ छ।
प्रहरीले कुकुर झिकाएर पनि घटनाबारे अनुसन्धान गरेको थियो भने प्राविधिक झिकाएर ती बालकहरूको पोस्टमार्टम गरेको थियो।
शव गलिसकेको अवस्थामा फेला परेकोले भिसेरा परीक्षण गर्न काठमाडौं पठाइएको थियो।
साथै बालकको शव फेला परेको भोलिपल्ट वैशाख १९ मा कार धनी तुलसीपुर ६ का ३३ वर्षीय यादवप्रसाद गैरे र सोही ठाउँका ५७ वर्षीय कार चालक पदमबहादुर बस्नेतलाई पक्राउ गरी लापरवाही शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान गरेको थियो।
चालक बस्नेत र कार धनी गैरेले गत माघ १ गतेदेखि नै उक्त कार लक गरेर पार्किङमा राखेकोले घटनाबारे केही थाहा नभएको बयान दिएका थिए।
तर बालकका अभिभावकले भने सामुहिक हत्या भएको हुन सक्ने दाबी गरेका थिए भने दोषी पत्ता लगाउन अडान राखेका थिए। उनीहरूले गत वैशाख ३१ गते मात्रै बालकको शव बुझेका थिए।
किरिया खर्च २५ हजारका दरले दिने र तुलसीपुर नगरपालिकाबाट थप एकेक लाख दिने, पीडित परिवारलाई रोजगारी व्यवस्था गर्ने, राष्ट्रिय दलित आयोगमार्फत गृह मन्त्रालयसमक्ष प्रत्येक बालकका परिवारलाई ५ लाख राहत माग गर्नेलगायत त्यसबेला निर्णय भएको थियो।
प्रहरीले उक्त कार चालक र कार धनीलाई अदालतमा पेश गर्ने तयारी गरेको छ।
‘गाडी धनी र चालकलाई अनुसन्धानको मिसिलसहित दाङ देउखुरी जिल्ला अदालतमा प्रहरीले आजै उपस्थित गराउँदै छ,’ प्रनाउ सिंहले भने।
प्रहरीका अनुसार कारधनी यादवप्रसाद गैरे भारतको एउटा मेडिकल पसलमा कार्यरत छन्।
उक्त भारतीय कार मेडिकल सञ्चालकको हो। उनले घर आउनका लागि त्यो कार तुलसीपुर ल्याएका थिए। उनी यसअघि पनि नेपाल– भारत आउने जाने क्रम चलिरहन्थ्यो।
तर पछिल्लो समय कोरोना महामारीले सीमा नाका सिल भएपछि लकडाउनका कारण कार भारत छोड्न जान नपाएको गैरेले बयान दिएको प्रहरीको भनाइ छ।