रूसका नागरिकले कोरोना भाइरसविरूद्धको खोप स्पुतनिक-भी लगाउन अस्वीकार गरेका छन्। कोरोना भाइरसविरूद्धको खोप स्पुतनिक-भी रूसमै बनेको हो।
विभिन्न देशमा खोपको माग बढरहेको बेलामा आफ्नै देशमा बनेको स्पुतनिक-भी लगाउन रूसी नागरिकहरूले अस्वीकार गरेका हुन्। राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना नागरिकलाई कुनै शंका नगरी खोप लगाउन आग्रह गरेका थिए।
उनले स्पुतनिक-भी विश्वकै सबैभन्दा बढी भरपर्दो र सुरक्षित भएको दाबी गरेका थिए।
'सबैभन्दा महत्वपूर्ण कुरा स्वास्थ्य हो। कृपया यसबारे सोच्नुहोला,' ६८ वर्षीय पुटिनले बुधबार भने।
रूसीहरूले भने क्रिमलिनको वैदेशिक नीतिलाई बढावा दिन हतारमा खोप बनाएको आरोप लगाएका छन्।
मस्कोकी डाभलाट्मो खादमसोएभाले आफ्नै देशमा बनेको खोपमाथि शंका रहेको र आफूलाई खोप लगाउन कुनै हतार नभएको बताइन्।
'मैले अहिलेसम्म खोप लिएको छैन। मलाई साँच्चै यसमा विश्वास छैन,' २३ वर्षीया विद्यार्थीले एएफपीसँग भनिन्,' खोप अझै पूर्ण रूपमा परीक्षण भइसकेको छैन।'
विश्वमै सबैभन्दा पहिला रूसले सन् २०२० अगष्टमा स्पुतनिक-भी खोपलाई प्रयोग अनुमति दिएको थियो। सन् १९५७ मा युएसएसआरले लञ्च गरेको विश्वकै पहिलो स्याटलाइटको नामबाट खोपको नाम राखिएको थियो।
गत अगस्टमा पुटिनले विश्वकै सबैभन्दा पहिलो खोप बनेको घोषणा गरेका थिए। रूसी वैज्ञानिकहरूले अन्य दुईवटा खोप पनि बनाइरहेका छन्।
यसरी देशकै वैज्ञानिकहरूले खोप बनाइरहँदा पनि मस्कोलगायत शहरका मानिसहरूले खोप लगाउन मानिरहेका छैनन्। उनीहरूले खोप नलगाउनुका विभिन्न कारण छन्।
रुसी सरकारले खोपसँगै आफ्नो शरिरमा माइक्रोचिप्ससमेत राखिदिने आशंका गरेका छन्। त्यसपछि सरकारले आफ्नो हरेक कदमलाई ट्र्याक गर्न सक्ने उनीहरूको चिन्ता छ। साथै, आफ्ना अन्य पुस्तालाई पनि त्यसरी नै ट्र्याक गर्न लागेको उनीहरूको आशंका छ।
स्वतन्त्र सामाजशास्त्रीहरूले खोप लगाउनमा आनाकानी हुनु नागरिक र रूसी सरकारबीच टुटेको विश्वासको संकेत भएको बताएका छन्।
'खोपलाई अस्वीकार गर्नु रूसी नागरिक र अधिकारीहरूबीच टुटेको सम्बन्धको कारण हो,' लेभादा सेन्टरका वरिष्ठ अनुसन्धानकर्ताले भने।
मस्कोमा रूसीहरूका लागि खोप नि:शुल्क छ। मस्कोका पार्क, मल, सपिङ सेन्टरलगायत विभिन्न ठाउँमा खोप केन्द्र बनाएको छ। साथै खोप लगाएपछि कतिपय ठाउँमा आइसक्रिमसमेत दिइएको छ।
सरकारले नागरिकलाई खोप लगाउन उत्प्रेरित गर्न केही भत्ता र नि:शुल्क हवाई सेवासमेत दिएको छ।
गत हप्ता मस्कोका मेयर सर्गेइ सोबयानिनले आफ्ना नागरिकलाई खोप लगाउन भनेका थिए। उनले युरोपका शहरहरूमध्ये मस्कोमा सबैभन्दा थोरै प्रतिशत मानिसहरूले खोप लगाएको बताएका थिए।
एक करोड २० लाख नागरिक भएको मस्कोमा १३ लाखले मात्रै खोप लगाएका छन्।
'मानिसहरू मरिरहेका छन्, तर उनीहरूलाई खोप लगाउन मन लाग्दैन,' मेयरले भने।
लेभादा सेन्टरको सर्वेक्षणअनुसार ६२ प्रतिशत नागरिकले खोप लगाउन आनाकानी गरिरहेका छन् भने ५२ प्रतिशत रूसीलाई कोरोना लाग्ने डर छैन।
५५ वर्षीया योग प्रशिक्षण नटाल्या यिभतुसेन्कोले आफू संक्रमित भएर निको भइसकेको र अब खोप लगाइहाल्ने कुनै योजना नभएको बताइन्।
'भाइरस आउँछ, जान्छ,' उनले भनिन्,'यदि तपाईंको प्रतिरक्षा प्रणाली कमजोर भए यसले अवश्य ढाल्छ नै।'
रूसमा विदेशमा बनेको खोप पाइन्न र अहिले खोप नलगाउने भनिरहेका नागरिकले विदेशी खोप पाए भने लगाउन मान्ने बुझिएको छ।
३५ वर्षीया अनिया बुकिनाले स्पुतनिक भीको असर देखिएको सुनेको बताएकी छन्।
'म अरू खोप उपलब्ध हुने बेल सम्म पर्खिन चाहन्छु,' उनले भनिन्।
फार्मेसी उद्योगकै स्टेक होल्डरहरूले खोपबारे सरकारले गरेको प्रचारको तरिकाका कारण यस्तो नतिजा आएको बताउँछन्।
'निरन्तर रूपमा हाम्रो टेलिभिजनमा अरू राष्ट्रले बनाएका खोपबारे नकारात्मक कुरा गरेकाले नागरिकले खोपमा विश्वास नगरेका हुन्,' न्युयोर्कस्थित बायोटेक लगानी फर्मका सहसंस्थापक एन्टोल गोप्काले भने।
रूसमा करिब १ करोड १० हजार मानिसले खोप लगाइसकेका छन्। गत मार्चसम्ममा त्यहाँका २ लाख ५० हजार रसियनले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन्। केही विज्ञहरूले सबै संक्रमित मृत्युको संख्या सरकारले जानकारी नगराएको आरोप लगाएका छन्।