भारतको राजधानी नयाँ दिल्लीमा जारी लकडाउनलाई सोमबारदेखि खुकुलो बनाउन लागिएको छ।
शुक्रबार मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउन भएको एक महिना बढी भइसकेको हुँदा अब त्यसलाई 'अनलक' खुकुलो बनाउँदै लैजाने बताएका हुन्।
आफ्ना दिल्लीबासीले जारी लकडाउनलाई समेत समर्थन गरेको उनले बताए।
दिल्ली सरकारले कोरोनाभाइरसको दोस्रो लहरलाई जसोतसो गरी नियन्त्रणमा लिएको हुँदा अब क्रमश: लकडाउनलाई खुकुलो पार्दै जान लागेको हो।
मुख्यमन्त्री केजरीवालले कोरोना संक्रमित पुष्टि हुनेको संख्या १.५ प्रतिशतमा झरेको बताए। तर कोरोनाविरूद्ध लडाइँ अझै नसकिएको उनले बताए। पछिल्लो २४ घण्टामा त्यहाँ जम्मा ११ सयमा संक्रमण पुष्टि भएको छ।
'यो लकडाउन सोमबार बिहान ५ बजेसम्म रहन्छ। त्यसपछि हामी खुकुलो पार्ने प्रक्रियामा जान्छौं। सोमबारदेखि दैनिक ज्याला मजदुरी गर्नेहरूलाई मध्यनजर राख्दै निर्माण कार्य र उद्योग खुल्नेछन्,' पत्रकार सम्मेलनमा केजरीवालले भने।
अरू कामहरू भने अहिलेका लागि बन्द नै रहने भन्दै केजरीवालले दिल्लीबासीलाई घरबाट बाहिर ननिस्कन आग्रह गरे। त्यसका लागि दिल्ली सरकारले निर्देशिका समेत जारी गर्न लागेको छ।
दिल्लीमा १९ अप्रिल १० बजेदेखि लकडाउन जारी गरिएको थियो। सो लकडाउन ३१ मे सम्मको लागि लम्ब्याइएको हो।