चन्द्रागिरि नगरपालिकाले मातातीर्थ सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने भएको छ।
अक्सिजन प्लान्ट जडान गर्नका लागि नगरपालिकाले सम्झौतासमेत गरिसकेको छ।
अस्पतालमा कोभिड-१९ का सङ्क्रमितको उपचारका लागि अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न थालिएको नगर स्वास्थ्य संयोजक सन्तोष खड्काले जानकारी दिए।
उनका अनुसार करिब रु ७४ लाख लागतमा अक्सिजन प्लान्ट जडान गर्न थालिएको हो।
वडा नं ८ का अध्यक्षसमेत रहेका स्वास्थ्य संयोजक खड्काले अक्सिजन प्लान्ट जडान गरिसकेपछि नगरभित्रका सङ्क्रमितको उपचारमा सहज हुने बताए।
अबको एक महिनामा जडान गरिसक्ने अक्सिजन प्लान्टबाट दैनिक ४० सिलिण्डर भरिनेछ।
अक्सिजन जडानका लागि अहिले काम भइरहेको छ।
नगरपालिकाको आन्तरिक स्रोत र दाताको आर्थिक सहयोगमा यो अक्सिजन प्लान्ट जडान गर्न लागिएको हो।
अहिलेसम्म दाताबाट नगद रु १५ लाख ७७ हजार ४४३ सङ्कलन भइसकेको छ।
नगरपालिकाले यही जेठ १ गतेदेखि अस्पतालमा सङ्क्रमितको उपचारका लागि ३० शय्याको आइसोलेसन बनाएको छ।
चन्द्रागिरिमा अहिलेसम्म चार हजार १८६ सङ्क्रमित, तीन हजार ४८७ निको र ५४ को निधन भइसकेको छ।
अस्पतालको आइसोलेसनमा २५ र होम आइसोलेसनमा ६२९ रहेका छन्।