चीन सरकारले दम्पतीलाई तेस्रो सन्तान जन्माउन प्रोत्साहन गर्ने नीति ल्याउने भएको छ।
साउथ चाइना मर्निङ पोष्टका अनुसार सोमबार राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा बसेको चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोको बैठकमा यो निर्णय सुनाइएको हो। सरकारले तीन जना बच्चा जन्माउने दम्पतीलाई प्रोत्साहन गर्ने नीति पनि लागू गर्ने भएको छ।
चीनमा गहिरिँदै गएको जनसंख्या घट्ने समस्यालाई रोक्न महत्वपूर्ण कदम चाल्न आवश्यक भएकाले यस्तो निर्णय गरिएको हो।
तेस्रो बच्चा जन्माउन प्रोत्साहनस्वरूप रिटार्यड हुने समय सार्ने, युवाहरूलाई विवाह र परिवारबारे शिक्षा दिने, चाइल्डकेयर सेवा सुधार्ने, सुत्केरी विदा बढाउने र चाइल्ड बर्थ इन्सुरेन्स गर्नेलगायतका कुराहरू गरिने जनाइएको छ।
चीन सरकारले यसअघि दम्पतीलाई दुई बच्चा जन्माउने अनुमति दिइएको थियो।
वैशाख २८ गते सार्वजनिक भएको चिनको पछिल्लो जनगणनाको रिपोर्टअनुसार अहिले चीनको जनसंख्या १ अर्ब ४१ करोड २० लाख छ।
सन् २०१० मा गरिएको चीनको छैठौं राष्ट्रिय जनगणनाभन्दा अहिले चिनियाँ जनसंख्या ५.३८ प्रतिशतले बढेको छ। यो दशकको वार्षिक वृद्धिदर ०.५३ प्रतिशत रहेको छ। सन् २००० देखि २०१० मा चिनियाँ जनसंख्या वार्षिक रूपमा ०.५७ प्रतिशतले बढेको थियो। केही दम्पतीहरूले बच्चा नजन्माउने क्रम सुरू भएकाले वार्षिक वृद्धिदर घटेको हो।
चीनले ३१ प्रान्त, केन्द्र सरकारमातहत रहेका स्वशासित क्षेत्र र नगरपालिकाको जनसंख्यालाई राष्ट्रिय जनगणनामा समेट्ने गरेको छ। हङकङ, मकाउ र ताइवानको जनसंख्या यसमा समावेश हुँदैन।
विभागले गत वर्ष चीनमा कति बच्चा जन्मिए भन्ने विवरण दिएको छैन। तर २०१९ मा भने १ करोड ४६ लाख बच्चा जन्मिएका थिए। यो संख्या सन् १९६१ पछिकै सबैभन्दा न्यून जन्मदर हो।
नयाँ जनगणनाअनुसार चीनमा १४ वर्षमुनिका बच्चाहरूको संख्या बढेर कूल जनसंख्याको १७.९५ प्रतिशत पुगेको छ भने १५-५९ वर्षका मानिसको संख्या सन् २०१० भन्दा ६.७९ प्रतिशतले घटेको छ।
चीनमा सन् १९४९ मा कम्युनिष्ट पार्टीले सत्ता चलाउन सुरू गरेको थियो। त्यसयता सन् १९५९-६१ मा चीनको जनसंख्या घटेको थियो।
जनसंख्याको वृद्धिदर निकै बढेपछि सन् १९८० मा चीनले एक बच्चामात्रै जन्माउन पाउने नीति लागू गरेको थियो।
३५ वर्षपछि सन् २०१५ मा चिनियाँ अधिकारीहरूले एक बच्चाको नीति हटाएर एक दम्पतीले दुई बच्चा जन्माउन पाउने बनाए पनि चीनमा जनसंख्या बढ्न नसकेको हो।