चीनमा १५ वटा जंगली हात्ती जंगल छाडेर लामो यात्रामा निस्किएका छन्।
युनानको सिसुवाङबन्ना स्वशासित क्षेत्रस्थित जंगल छाडेर निस्किएका ती हात्तीहरू अहिलेसम्म पाँच सय किलोमिटर दूरी पार गरिसकेका छन्। हात्तीको बथान बुधबार प्रान्तको राजधानी कुनमिङनजिक आइपुगेको छ।
हात्तीलाई सहरमा पस्न नदिन अधिकारीहरूले विभिन्न उपाय लगाएका छन्। हात्ती हिँड्न लागेको बाटोलाई बन्द गरेर मानिसलाई रोकिएको छ, बस्ती पस्न नदिन ठूला गाडी, पर्खालले छेकिएको छ।
हात्तीहरू किन आफ्नो बासस्थान छोडेर यात्रामा निस्किए भन्ने अहिलेसम्म खुलेको छैन।
फोरेस्ट्री र ग्रासल्यान्डको प्रान्तीय ब्युरोले मंगलबार कुनमिङबाट २० किलोमिटर पर रहेको युक्सी शहरमा हात्तीको बथान पुगेको बताएको छ।
ब्युरोले कुनमिन सरकारलाई पनि खतराको संकेत समयमै दिन र सावधानी अपनाउन भन्दै अनुरोध गरेको छ।
गत वर्ष जंगल छाड्दा १६ वटा हात्ती थिए। तर एउटा हात्ती बासस्थानतर्फ फर्किएको थियो।
त्यसपछि बीच बाटोमै दुई वटा हात्ती जन्मिएको नेशनल फोरेस्ट्री एन्ड ग्रासल्यान्ड एड्मिनिस्ट्रेसनले बताएको छ।
गत अप्रिलमा १७ वटा हात्ती उत्तरी युआनजियाङ्ग काउन्टी पसेपछि अधिकारीहरू सतर्क भएका थिए। त्यहाँ पुगेपछि फेरि दुइटा हात्ती पहिला आएको जंगलतिर फर्किएका थिए।
हात्तीहरू लामो यात्रामा निस्किएपछि अहिले नौ वटा ड्रोन, ट्रक र ७६ प्रहरी गाडीसहित ३६० बढी मानिस परिचालन भएका छन्। हात्तीलाई खुवाउन १८ टन खाना बनाइएको छ।
सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार अहिलेसम्म हात्तीको यो बथानले मानवीय क्षति गरेको छैन। तर ५६ हेक्टर जमिनमा गरिएको खेतीमा क्षति पुर्याएको छ।
एसियाली हात्ती विज्ञ चेन मिङयोङ्गले चीनमा हात्तीहरू यसरी पहिलो पटक लामो दूरीमा हिँडेको बताए।
'एसियाली हात्तीहरू बसाइ सर्नु सामान्य हो तर यो केही सीमित क्षेत्र भित्रमात्रै हुने गर्छ। यसरी यति लामो दूरीको यात्रा गर्नु एकदमै दुर्लभ हो,' चेनले भने,'उनीहरूको गन्तव्य कहाँ हो भन्ने हामी भन्न सक्दैनौं।'
उनले हात्तीको यो बथानको नाइकेसँग अनुभवको कमीले सबै हात्ती गलत दिशामा लागेको हुनु पर्ने बताए।