बाँकेस्थित नेपालगन्जको भेरी अस्पतालमा गत जेठ १३ गते डाक्टर र नर्समाथि भएको आक्रमण तथा अस्पताल तोडफोड घटनाबारे सत्यतथ्य बुझ्न गठित समितिले ‘सुटुक्क’ प्रतिवेदन सार्वजनिक गरेको छ।
उक्त प्रतिवेदनमा अस्पतालको आन्तरिक व्यवस्थापनमा सुधार गर्नुपर्नेजस्ता बुँदा पनि समावेश छन्।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार छानविन समितिले बुझाएको प्रतिवेदन बुधबार बेलुका सार्वजनिक गरिएको हो, जसमा घटनामा संलग्न व्यक्तिलाई हदैसम्मको कारबाही माग गरिएको बुँदा पनि छ।
‘यो प्रतिवेदनअनुसार घटना सुनियोजित हो भन्ने देखिएन। बिरामीको मृत्युपछि उनका आफन्त तत्काल आवेगमा आएर डाक्टर र नर्समाथि कुटपिट गरेको भन्ने निष्कर्ष प्रतिवेदनको छ,’ उनले भने।
सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति गठन गरिएको थियो। उक्त समितिले २५ पृष्ठ लामो प्रतिवेदन दिएको छ। स्वास्थ्य ऐन नै परिमार्जन गर्नुपर्ने र भेरी अस्पतालमा कर्मचारीको पदपूर्ति गरिनु पर्ने कुरासमेत प्रतिवेदनमा अटाएका छन्।
स्वास्थ्यकर्मीमाथि कुटपिटपछि यो घटनालाई लिएर चौतर्फी विरोध भएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेललगायतले घटनाका दोषीमाथि कारबाहीको माग गरेका थिए भने स्वास्थ्यकर्मीहरूले सुरक्षाको वातावरण हुनुपर्ने मागसहित प्रदर्शन गरेका थिए।
सार्वजनिक भएको प्रतिवेदनले उल्टै अस्पताल प्रशासनको कमजोरी औंल्याएकोमा स्वास्थ्यकर्मीहरू भने अचम्मित छन्।
‘सत्यतथ्य बुझ्न बनेको छानबिन समितिले झन् हामी स्वास्थ्यकर्मीलाई थप पीडा दिने गरी प्रतिवेदन दिएको छ। राजनीतिक आस्थाका आधारमा दोषी जोगाउने षड्यन्त्र भए त्यो कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन,’ अस्पतालकी एक नर्सले सेतोपाटीसँग भनिन्।
यो घटनामा नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावत संलग्न रहेको आरोपमा पक्राउ परेका छन्। कोरोना संक्रमणपछि उपचार गराइरहेका उनका दाजु डिल्लीबहादुर रावतको निधनपछि डाक्टर र नर्समाथि अस्पतालभित्रै कुटपिट भएको थियो।
छानविन समितिकी एक सदस्य, नेपाल नर्सिङ संघ बाँकेकी अध्यक्ष लक्ष्मी केसीले प्रतिवेदन तयार पार्ने क्रममा: ‘सुनियोजित नभएर उत्तेजनामा आएर घटना भएको भन्ने शब्द राखेपछि आफूले १५ मिनेट प्रतिवाद गरे पनि नसुनिएको’ बताइन्।
‘सुनियोजित हुनलाई हातहतियार प्रयोग भएको हुनुपर्छ भनेर अरूले भन्नुभयो, हामीलाई त मुद्दाका कुरा त्यति मेसो पनि भएन,’ उनले भनिन्।
अर्की एक स्वास्थ्यकर्मीले सत्यतथ्य बुझ्न गठित समितिको प्रतिवेदनले आस्था तथा शक्तिका आडमा स्वास्थ्यकर्मीको मोरल डाउन हुने गरी प्रतिवेदन दिएको बताइन्।
‘पक्राउ परेका व्यक्ति एमाले कार्यकर्ता हुन्। उनलाई जोगाउन यस्ता षड्यन्त्र भइरहेका छन्। प्रतिवेदन केही कुरा बङ्ग्याएर आएको छ,’ उनले दाबी गरिन्।
उनले कोरोना महामारीका बेला शक्तिको उन्मातमा ‘म मुख्यमन्त्रीको मान्छे हुँ भनेर नर्स र डाक्टरलाई लखेटी लखेटी कुटपिट गर्नुलाई उत्तेजना भन्ने?,’ उनको प्रश्न छ।
गत जेठ १३ गते बेलुकी ८ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएको थियो।
घटनामा उनका भाइ नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावत, भरत रावत र लोकराज रावत संलग्न रहेको आरोप छ। उनीहरूले स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नुका साथै अस्पताल तोडफोड गरेका थिए।
घटनाबारे सत्यतथ्य बुझ्न बनेको समितिले गुपचुप रूपमा अस्पतालकै कमजोरी औंल्याएको छ। प्रहरीले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको आरोपमा तीन जनालाई ज्यान मार्ने उद्योग र कोरोना महामारी संक्रामक रोग अन्तर्गत मुद्दा चलाएर थप अनुसन्धान गरिरहेको छ।