कोरोना भाइरसको संक्रमण घटेसँगै बाँके जिल्लाका अस्पतालहरुमा बेड खाली हुन थालेको छ।
आइतबार बेलुकी साढे चार बजेसम्म बाँकेका विभिन्न अस्पतालहरूमा कूल १५५ बेड खाली रहेको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए।
बाँकेमा कुल ३६१ कोरोना संक्रमितका लागि छुट्टाइएका बेड छन्। आइतबारसम्म कुल १९१ जना संक्रमितको उपचार भइरहेको छ।
त्यसमध्ये जिल्लाका ७२ जना र बाहिरी जिल्लाका ११९ जना बिरामीको उपचार भइरहेको जनस्वास्थ्य अधिकृत श्रेष्ठले बताए। तीमध्ये ८९ जनाको अवस्था गम्भीर छ।
भेरी अस्पताल नेपागञ्जमा कुल बेड संख्या २०० रहेकोमा त्यहाँ ११६ जना बिरामीको उपचार भइरहेको र ६९ खाली बेड छन्।
आइतबार बेलुकासम्म भेरीमा उपचाररतमध्ये २९ जनाको अवस्था गम्भीर रहेको श्रेष्ठले जनाए।
त्यस्तै, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा १३० बेडमध्ये ७० जना उपचाररत छन्। कोहलपुरमा पनि खाली बेड संख्या ६९ वटा छन्।
आइतबार बेलुका साढे ४ बजेसम्म कोलहपुरमा उपचाररतमध्ये ५८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको श्रेष्ठले बताए।
त्यस्तै, वेस्टर्न अस्पतालमा सर्जिकल बेड संख्या १६ वटा रहेकोमा जम्मा २ जना बिरामी मात्रै उपचाररत छन् भने १६ बेड खाली छन्।
युनाइटेड अस्पतालमा बेड संख्या १५, बिरामी संख्या ३ र खाली बेड संख्या १२ छ।
बितेको २४ घन्टामा बाँकेमा थप चार जना संक्रमितको मृत्यु भएको छ।
मृतक दुई पुरुष र दुई महिला छन्। दुई जना बाँकेका हुन् भने अरू दुई बर्दियाका छन्।
त्यहाँ पछिल्लो २४ घन्टामा १६३ जनाको पिसिआर परीक्षण गर्दा ५७ जनालाई संक्रमण पुष्टि भएको हो।
जिल्लाका फोकल पर्सन तेज वलीले त्यसमध्ये १२ जना मात्रै बाँकेका र ४५ जना बाहिरी जिल्लाका संक्रमित भएको बताए।
‘पहिलेको तुलनामा आज संक्रमण दर निकै कम भइसकेको छ,’ वलीले भने ‘हामीलाई अब पहिले जस्तै बेड मिलाई दिनुहोस् भनेर बिरामी तथा आफन्तले फोनहरु गर्न छोडेका छन्।
उनले संक्रमण घट्दै गएपछि क्रमिक रुपमा सहज अवस्था देखिन थालेको बताए