साँझको पाँच बज्दै थियो। दाङको तुलसीपुरमा घाम-पानी परिरहेको छ । त्यही बीचमा नारायण गौतम अटो चलाएर वीरेन्द्र चोकतर्फ लागे।
अटोमा गाई गोरूका लागि घाँस र कुकुरको लागि मासु भात राखिएको थियो। दुई तीन जना अटोमा बसे। बाँकी केहीले मोटर साईकलमार्फत अटो पच्छ्याए।
घोराही चोक नकिजै सुनसान सडक पेटीमा खैरो रंगको एउटा कुकुर झोक्राएर बसिरहेको थियो। अटो र मोटरसाईकल नजिकै आएर रोकिनासाथ कुकुरले कान ठाडा बनायो।
बिगत एक सातादेखि दारी ग्याङका सदस्यले तुलसीपुर बजारका कुकुरलाई मासुभात खुवाउँदै आएका थिए। त्यहीँ भएर कुकुरले उनीहरूलाई चिन्यो। खान पाइने आशमा खुसी देखिन्थ्यो।
कुकुरलाई खाना दिन बन्द गरिएको अटो पुनः स्टार्ट भएन। सबै मिलेर ठेलेर अटो स्टार्ट गरे। यो अटो पनि इन्धन भरिदिने सर्तमा उनीहरूले मागेर ल्याएका रहेछन्।
नगरपालिकाको भवनदेखि दक्षिणको चोकमा फेरि अटो रोकियो। नजिकै कालो कुकुरको छाउरो देखियो । अटो र मोटरसाईकलबाट दारी ग्याङका सदस्य झर्नासाथ त्यो छाउरो खान पाइने आशमा पुच्छर हल्याउँदै अघिपछि लुटुपुटु गर्न थाल्यो। मासुभात खान पाएपछि मख्ख थियो। ‘यसले त मलाई चिनिसकेको छ,’ अभिशेक वलीले खाना दिँदै भने, ‘यसले त मलाई अघिपछि देख्दा पनि पच्छ्याउन थालेको छ।’
अटो मिडिया चोकमा पुगेर केही गाईलाई घाँस दिएर बाहिनी चोकहुँदै बसपार्कतर्फ झर्यो।
बसपार्क क्षेत्रमा दर्जन बढी कुकुर यताउता बसिरहेका थिए। कोही घाईते र कोही खोच्याउँदै हिड्ने खालका थिए। एउटा कुकुरको टाउकोमा गहिरो घाउ थियो । घाउ भरि झिँगा भन्किएका थिए। उसले पनि भोक मेटाएर गयो।
पछाडिको एउटा खुट्टा टेक्नै नसक्ने अर्को कुकुर खोच्याउँदै आएर मासुभात खायो। दारी ग्याङ बसपार्कहुँदै पिपलबाट फर्किदै बजारका अन्य कुकुर तथा गाई बस्तुलाई पनि घाँस र खाना खुवायो।
दारी ग्याङ, दाङका सल्लाहाकार मनिष गौतमका अनुसार पछिल्लो लकडाउन सुरू भएदेखि नै उनीहरुले तुलसीपुरको वीरेन्द्र चोकमा फुड बैंक सञ्चालन गरेका हुन्। उनीहरूले केही समयसम्म त्यो फुड बैंक सञ्चालन गरे।
जहाँ आवश्यता परेकाले लिएर जान्थे र सहयोग गर्न चाहानेले सहयोग गर्थे। उक्त फुड बैंकमा बढी भिडभाड हुन थालेपछि स्वास्थ्य प्रोटोकललाई ध्यानमा राख्दै त्यो बन्द गर्नुपरेको गौतमले बताए ।
तर, उनीहरूका कदम रोकिएनन् । समस्यामा परेका वास्तविक घर परिवारलाई उनीहरुले आफैं पहिचान गरे। त्यसपछि उनीहरुको घरमै दाल, चामल जस्ता खाद्यान्न पुर्याउँदै आएका छन्। उनीहरुले सहयोग गरेका गरिब तथा अशक्त परिवारको नाम गोप्य नै राख्छन्।
यो बीचमा दारी ग्याङले अति विपन्न परिवारका सदस्यलाई खाद्यान्न मात्रै हैन आर्थिक साहयता पनि गरेको छ । एक जनालाई भवन निर्माणको लागि अढाई हजार इट्टा पनि सहयोग गरेको सल्लाहकार मनिषले बताए ।
त्यसका साथै सम्पूर्ण बजार, होटेल र ब्यवसाय बन्दरहेको अवस्थामा मानिसका साथै पशुलाई समेत खानाको समस्या रहेको कारणले गर्दा आफूहरूले समूहमा छलफल गरेर जनावरलाई पनि खाना खुवाउन सुरु गरेको उनले बताए ।
गत वर्षको लकडाउनमा पनि दारी ग्याङले आपसमा रकम संकलन गरि यस्तै अभियान चलाएको थियो।
यो वर्ष फुड बैंक सुरु गरेपछि फेरि उनीहरूको खातामा देश बिदेशबाट सहयोग जुटिरहेको छ ।
‘अझैं हाम्रो खातामा ७० हजार जति रकम होला,’ मनिषले भने ‘हामी त्यही पैंसाले कुकुरका लागि दैनिक ब्रोईरल कुखुराको खुट्टा टाउकासहित मासु भात दिने गर्छौं।’
दारी ग्याङका युवा मिलेर आफै कुकुरका लागि भात र मासु पकाउँछन्। गाई गोरूको लागि घाँस भने हालसम्म बिजौरीको एउटा फार्मले सहयोग गर्दै आएको मनिषले बताए।
युवाहरुको परोपकारी कार्य देखेर स्थानीय केही ब्यापारीले चामल पनि सहयोग गर्न थालेका छन्।
दारी ग्याङले जिल्लाको घोराहीमा पनि यस्तै अभियान सञ्चालन गरेको छ। हेर्नुहोस् भिडिओमा