पाकिस्तानमा दुइटा ट्रेन जुध्दा कम्तिमा ३० जनाको मृत्यु भएको छ।
सोमबार घोट्की जिल्लाको धार्की सहर नजिकै यात्रुवाहक ट्रेन आपसमा जुध्दा कम्तिमा ३० जनाको मृत्यु भएको पाकिस्तानी समाचार पत्र डनले जनाएको छ।
दुर्घटनामा परी ५० जनाभन्दा बढी घाइते छन्। पाकिस्तान रेलवेज प्रवक्ताका अनुसार कराचीबाट सरगोधा जाँदै गरेको मिल्लाट एक्सप्रेस ट्रेन ट्र्याकबाट खसेको थियो। जसले गर्दा रावलपिण्डीबाट आउँदै गरेको सरसिइद एक्सप्रेस ट्रेनसँग जुध्न पुग्यो।
उक्त दुर्घटना रैती रेवले स्टेशन नजिकै भएको प्रवक्ताले बताए।
अहिले ट्रेन दुर्घटनामा परेकाहरूको उद्धार गर्ने काम भइरहेको छ। कराची, सुक्कुर, फैसालावाद र रावलपिण्डीमा हेल्पलाई सेन्टर स्थापना गरिएको छ।
मिल्लाट एक्सप्रेस ट्रेनमा १५ देखि २० जना यात्रुहरू अझै फसेको र उनीहरूको उद्धार गर्ने काम भइरहेको घोट्कीका एसएसपी उमर तुफैलले बताए।
ट्रेनभित्र केहि यात्रु बाँकी रहेको हुँदा उनले मृत्युको संख्या अझै बढ्न सक्ने बताए। यद्यपी उनीहरूको उद्धार गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
घोट्कीका डेप्युटी कमिसनर उस्मान अब्दुल्लाहले जिओ न्युजसँग कुरा गर्दै १३ देखि १४ वटा ट्रेनका पाङ्ग्रा ट्र्याकबाट बाहिरिएको बताएका छन्। उनले सो ट्रेनमा अझै मानिसहरू फसेको र उद्धार गर्ने काम चुनौतीपूर्ण रहेको बताए।
उनले उद्धार गर्नको लागि रोह्रीबाट रेस्क्यू ट्रेन छुटिसकेको बताए। तर उद्धार कहिलेसम्म गर्न सकिन्छ भन्ने बताउन सकेनन्।
'यो चुनौतीपूर्ण काम हो। यसमा भारी मेशिनको प्रयोग गरेर उद्दार गर्नुपर्ने भएकोले समय लाग्छ,' अब्दुल्लाहले भने, 'जिल्लामा आपतकालिन घोषणा गरिएको छ। सबै डाक्टर, चिकित्कसकहरूलाई बोलाइसकेको छ।'