दक्षिणी चीनको ग्वान्जाओ सहरमा कोरोनाभाइरसको महामारी रोक्न प्रतिबन्धहरू लगाइएका छन्।
मे २१ यता ६४ जनामा कोरोनाको संक्रमण देखिएपछि गुवाङडोङ प्रान्तको राजधानीसमेत रहेको व्यापारिक केन्द्र ग्वान्जाओका अधिकारीहरूले सहरभरि कोरोना परीक्षण थालेका छन्।
ग्वान्जाओ स्वास्थ्य आयोगकी प्रवक्ता चेन बिनले तीन दिनमा आफूहरूले १ करोड ८० लाख मानिसको कोरोना परीक्षण गरेको बताइन्।
आइतबार त्यहाँ एक जना लक्षणविहीनसहित ४ जना कोरोनाभाइरसका संक्रमित भेटिएका थिए।
'महामारीविरूद्धको यो लडाइँमा कोही दर्शकमात्र हुन सक्दैनन्,’ चेनले भनिन्,‘कोही पनि जोखिम समूहमा छन् वा संक्रमितलाई भेटेका छन् भने आफैं आएर परीक्षण गराउन म आग्रह गर्छु।’
गत मेमा एक जना ७५ वर्षीया महिलालाई कोरोनाको संक्रमण देखिएपछि ग्वान्जाओलाई अधिकारीहरूले हाइ अलर्टमा राखेका थिए।
गुवाङडोङ प्रान्तमा १२ करोड मानिस बस्छन् भने ग्वान्जाओमा मात्रै १ करोड ८० लाख मानिस बस्छन्।
उक्त प्रान्तमा अहिलेसम्म १२६ जना कोरोना संक्रमित भेटिएका छन् भने मेमा संक्रमण भएकी वृद्धामा डेल्टा भेरियन्टको संक्रमण देखिएको थियो। पछिल्लो समय भारतमा यही भेरियन्ट फैलिएको थियो।