तुलसीपुर उपमहानगरपालिका-६ स्थित विष्णु चलचित्र मन्दिरको प्राङ्गणमा एक जना किसान गाई-भैंसी चराइरहेका थिए।
सामान्य समय हुन्थ्यो त यहाँ सिनेमा हेर्न आउने मानिसको चहलपहल हुन्थ्यो। यतिखेर कोभिड-१९ का कारण निषेधाज्ञा छ।
‘मानिसको उपस्थिति नहुँदा सिनेमा हलको प्राङ्गणभरि झारपात उम्रिएको छ। त्यो घाँसभित्र सर्पलगायतका जीवजन्तु लुक्लान् भनेर डराउनुपर्ने अवस्था छ,’ चलचित्र मन्दिरका हेरालु तथा अपरेटर कालुसिंह केसीले भने, ‘उहाँले म गाई-भैंसी चराउँछु भन्नुभयो, ठिकै छ। घाँस त्यतिकै सुकेर जानुभन्दा गाईं-भैंसी अघाउँछन्।’
६० वर्षीय केसी विष्णु चलचित्र मन्दिरमा २५ वर्षदेखि कार्यरत छन्।
विष्णु चलचित्र मन्दिर बन्द भएको वर्ष दिनभन्दा बढी भयो। अघिल्लो लकडाउन चैत ११ देखि बन्द भएको सिनेमा हल हालसम्म सञ्चालनमा आउन नसकेको केसीले बताए।
लकडाउन हुनुअघि सिनेमा हल दैनिक एउटा शो चल्थ्यो। हाउसफुल नभए पनि दैनिक २०/५० जना सिनेमा हेर्न आउँथे।
सिनेमा हल सञ्चालनमा आउँदासम्म केसीलाई दिन बिताउन सजिलो लाग्थ्यो। तर, आज उनी झन्डै १० कठ्ठा क्षेत्रफलमा ठडिएको सिनेमा हलमा रातदिन एक्लै बस्दा न्यास्रो मान्छन्।
घरका मानिसहरू पनि केसीलाई बोलाउन थालेका छन्। तर, साहुले नजान आग्रह गरिरहेका छन्। हल बन्द भए पनि केसीले मासिक दस हजार तलब भने पाइरहेका छन्।
‘२४/२५ वर्ष यही सिनेमा हलमा काम गरें र हल छोडेर जान पनि सकिरहेको छैन,’ केसीले भने, ‘तर, कामै नगरी त्यतिकै साहुबाट तलब थाप्न अप्ठेरो लाग्न थालेको छ।’
साहुले सिनेमा हलको रेखदेखको लागि एक जना मानिस राख्नैपर्ने अवस्था भएकाले बस्न आग्रह गरी तलब लिन कुनै अप्ठेरो नमान्न भनेको केसीले बताए।
केसीले अपरेटरको काम घोराहीस्थित राप्ती सिनेमा हल, निमा सिनेमा हलका साथै कपिलवस्तुको चन्द्रौटास्थित हलमा समेत सिकेका रहेछन्।
यो सिनेमा हल २०५३ सालदेखि सञ्चालनमा आएको हो। हल सञ्चालनमा आएदेखि नै केसी कार्यरत् छन्।
अप्ठेरोमा साहूलाई धोका नदिने भन्दै उनले कोभिड-१९ को महामारी र लकडाउन अन्त्य नहुँदासम्म प्रतीक्षा गर्ने योजना सुनाए। तर, लकडाउन खुलेपछि पनि हलको अवस्था यस्तै कायमै रहे २५ वर्षपछि घोराहीस्थित घर फर्किने उनको सोच छ।
केसीका अनुसार सुरू-सुरूमा टिकट पाउनै मुस्किल हुन्थ्यो। मानिसहरू उभिएर पनि सिनेमा हेर्थे। टिकट किनेकालाई समेत गेटभित्र वा ढोकाभित्रै प्रवेश गराउनै मुस्किल पर्थ्यो।
उतिखेर यो सिनेमा हलमा ६/७ जना कर्मचारी थिए। लकडाउनले सिनेमा हल बन्द भएपछि नजिक घर भएकाहरू फर्किए।
‘कतिपय दर्शकहरूले हल पनि पुरानो भयो, हलको स्तर सुधार गर्नुपर्छ र अब क्यूएफएक्स हल बनाउनु पर्यो भन्ने गर्छन्,’ हलमा मानिस कम्ती आउनुको कारणबारे उनले भने।
साहुलाई उनले बारम्बार दर्शकले भन्ने गरेका कुरा सुनाउँछन्। हल मोडिफाइको कुरा गर्छन्। सिट राम्रो राख्ने कुरादेखि पर्दा राम्रो राख्न सुझाउँछन्। अहिले यो सिनेमा हलमा ३३ एमएमको प्लाष्टिक पर्दा छ। यो पर्दा बढाएर ७५ एमएमसम्मको बनाउन आवश्यक रहेको उनी ठान्छन्।
उनले भने, ‘साहुले हुन्छ, सुधार गरौंला भन्नुहुन्छ, तर काम भएको छैन।’
गाउँघरमा विद्युत पुग्नु, टिभी घर-घरमै हुनु तथा डिसहोमका कारण मानिसहरू हलमा आउन छोडेको केसीको बुझाइ छ।
‘डिसहोमले मन परेको फिल्म हेर्ने अफर दिएको छ,’ केसीले भने, ‘घरमै बसेर भनेको जस्तो फिल्म स-परिवार बसेर हेर्न पाएपछि किन सिनेमा हलमा मानिस आऊन्?’
स्तरीय सिनेमा बन्नै छोडेको हुँदा पनि दर्शकहरू आउन छोडेको उनले बताए।
यो सिनेमा हल अभिनेता अर्जुन श्रेष्ठ, व्यवसायी उत्तमकुमार श्रेष्ठ र अनुप श्रेष्ठको हो। संगोल परिवार हुँदा निर्माण गरेको सिनेमा हल अहिले तीन काका-भतिजको नाममा रहेको अनुप श्रेष्ठले बताए। श्रेष्ठका अनुसार उतिखेर यो हल निर्माण गर्न झन्डै एक करोड बढी लगानी भएको थियो।
‘त्यो रकम उतिखेरै अन्य ठाउँमा लगाएको भए आज हाम्रो आर्थिक अवस्था अर्कै भइसक्थ्यो होला,’ श्रेष्ठले भने, ‘हलबाट लगानी उठ्ला भन्ने सोचेका थियौं।’
उनले पछिल्लो समय कोभिड-१९ र लकडाउनले गर्दा सिनेमा हल सञ्चालकहरू ठूलो मर्कामा परिरहेको बताए। श्रेष्ठले नेपाली फिल्म स्तरीय नबन्दा पनि दर्शक आउन छोडेको तर्क गरे।
तुलसीपुरको पहिलो सिनेमा हल ‘ॐ शान्ति’ हो। २०४६ सालदेखि निर्माण सुरू गरेको यो सिनेमा हल २०५० सालमा निर्माण पूरा भई सञ्चालनमा आएको हो।
यो हल सिनेमा हल तुलसीपुर-६ मै छ। नेपाली कांग्रेसका स्थानीय नेता ध्रुव पुरीले यो सिनेमा हल निर्माण गर्दा एक करोड बढी खर्च भएको बताए। झन्डै ८ कठ्ठा क्षेत्रफलमा सिनेमा हल छ।
उनी र उनका भाइ लोकमान पुरीका नाममा यो सिनेमा हल छ। उनले सिनेमा हल नचुल्नुका कारणहरूमध्ये धेरै युवायुवती विदेश जानुलाई पनि औंल्याए।
‘दाङमा न्यून मध्यमवर्गीय मानिसहरू धेरै छन् र वर्षेनी एक हजारदेखि दुई हजारको हाराहारीमा युवायुवती विदेश जाने गरेका छन्,’ पुरीले भने, ‘हाम्रो हलमा लाइन लागेर सिनेमा हेर्न आउने भनेकै युवायुवती हुन्।’
तत्कालीन माओवादी युद्धले गर्दा पनि सिनेमा हेर्न आउने मानिसहरूको संख्या ह्वात्तै घटेको उनले बताए।
इन्टरनेटको विस्तार, हात-हातमा मोबाइल, डिसहोम गाउँ-गाउँमा पुग्नु, डिभिडी प्लेयरहरू पुग्नु, सिनेमाको कपी हुनु र स्तरीय नेपाली चलचित्र नबन्नु जस्ता कारणले पनि सिनेमा हलमा दर्शक आउन छोडेको उनले तर्क गरे।
उनले सुविधा तथा प्रविधि थप्न नसक्नुले पनि दर्शक आउन छोडेको स्वीकार गरे। तर, प्रविधि अनुसार सुविधा थप्दा कम्तीमा पनि ५० लाखदेखि एक करोड खर्च गर्नुपर्ने अवस्था रहेको र त्यो लगानी गर्दा रिर्टन हुने सम्भावना न्यून रहेकोले लगानी गर्न सक्ने अवस्था नरहेको उनले बताए। विगत एक डेढ वर्षदेखि हल बन्द भएसँगै आफूले सबै कर्मचारीलाई बिदा गरेको पुरीले बताए।
ॐ शान्ति सिनेमा हलको प्राङ्गणमा पनि झार-जंगल उभ्रिएको छ।
दाङ जिल्लाभर हाल ८ वटा सिनेमा हल छन्। तुलसीपुरमा २, घोराहीमा ४, लमहीमा र भालुवाङमा एक-एक वटा हल छन्। घोराहीकै नारायणपुरमा रहेको सिनेमा हल केही वर्ष पहिले बन्द भइसकेको छ।
चलचित्र पत्रकार संघ दाङका अध्यक्ष शिव पुनले पछिल्लो समय कोरोना भाइरसको महामारीका कारण सिनेमा हलहरू बन्द भए पनि पुराना भौतिक संरचना र प्रविधिका कारण दर्शक आकर्षित हुन नसकेको बताए।
त्यस्तै, घोराहीमा अर्कौ स्वर्गद्वारी नामक थ्रिडी सिनेमा हल र गणेश चलचित्र मन्दिरमा पनि दर्शक सिनेमा हेर्नका लागि जाने गरेको तर्क गरे।
‘अहिलेको डिजिटल जमानामा पुरानै भौतिक संरचना र पुरानै प्रविधि भए किन दर्शक आकर्षित हुन्छन्,’ उनले भने, ‘सुविधा सम्पन्न तथा स्तरीय क्यूएफएक्स हल बनाउने हो भने दर्शक अझै पनि आउँछन्।’