संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र युरोपियन युनियनका अधिकारीहरूले आफैंले बनाएको एप दिएर संसारभरिबाट विभिन्न अपराधमा संलग्न ८ सय बढीलाई पक्राउ गरेका छन्। ।
अमेरिकाको संघीय जाँच ब्युरो(एफबिआइ)ले विभिन्न देशका अपराधीलाई मेसेजहरू गोप्य हुने एएनओएम नामक एप ल्याएको थियो। त्यो एपका मेसेजहरू गोप्य हुने विषेशताका कारण अपराधीहरूले चलाउन थालेका थिए। सादा पोशाकमा खटिएका अनुसन्धान अधिकृतहरूले नै उक्त एप आपराधिक गिरोहका नाइकेहरूलाई दिएका थिए।
उनीहरूले एप प्रयोग गर्न थालेपछि अधिकारीहरूले रियल टाइम उनीहरूका योजाबारे थाहा पाउन थालेका थिए। एप प्रयोगकर्ताले लागुऔषध कारोबार, मुद्रा निर्मलीकरण र हत्यालगायतका योजना त्यही एपमार्फत् एक-अर्कासँग साटासाट गर्थे।
तिनै मेसेजहरूको आधारमा अहिलेसम्म ८ सय बढीलाई पक्राउ गरिएको अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले जानकारी दिएका छन्। यस विषयमा एफबिआईले पनि आजै जानकारी दिन लागेको छ।
मोरिसनले यो अपरशेन विश्वभरिका संगठित अपराधीविरूद्ध ठूलो प्रहार गरेको बताएका छन्।
अहिलेसम्म अष्ट्रेलियाली अधिकारीहरूले २२४, न्युजिल्यान्डमा ३५, स्विडेनमा ७५, जर्मनीमा ६०, नेदरल्यान्डमा ४९ जनालाई पक्राउ गरिएको छ। उनीहरूबाट ठूलो मात्रामा लागु औषधसहित १४ करोड ८० लाख डलर पनि बरामद गरिएको छ।
एनओएम एपले कसरी काम गर्यो ?
एफबिआईं आफैंले मेसेजहरू गोप्य रहने एनओएम नामक एप बनाएको थियो। एपका प्रयोगकर्ता बढाउन प्रहरीले सुरूमा भूमिगत अपराधीहरू माझ पठायो।
सुरूमा वरिष्ठ अपराधी भनिएका व्यक्तिहरूले नै चलाउन थालेका थिए। त्यो एप भ्वाइस वा क्यामेराको सुविधा नभएको फोनमा राखिएको थियो। जसले गर्दा पनि साना अपराधीहरूले यसलाई विश्वासिलो मानेर प्रयोग गरेका थिए।
यो स्टिङ अपरेशनमा अष्ट्रेलियाका फरार लागु औषध कारोबारी हकन अयिकको भूमिका प्रमुख मानिएको छ। उनले अन्जानमा आफ्ना सहयोगीहरूलाई यो एप चलाउन सुझाव दिएका थिए। जस कारण अपरेशन सफल भएको हो। केही स्थानीय आउटलेट्सहरूले उनी अहिले टर्कीमा श्रीमतीसँग आलिशान जीवन बिताइरहेको भनेका छन्।
प्रहरीले अब उनी खतरामा रहेको भन्दै आत्मसमर्पण गर्नु नै उनका लागि राम्रो हुने बताएको छ।
जम्मा १२ हजार डिभाइसमा यो एप सञ्चालन भएको थियो। बिबिसीका अनुसार एक सय बढी राष्ट्रका तीन सय बढी अपराधी सिन्डिकेटहरूले यसको प्रयोग गरेका थिए।
प्रहरीले उनीहरूका लाखौं मेसेजहरू रियल टाइममै हेरिरहेको थियो।
'उनीहरूले लागु औषध, हिंसा, झगडा, निर्दोष व्यक्तिको हत्या लगायतका कुरा मात्रै गर्थे,' अष्ट्रेलियाका संघीय प्रहरी आयुक्त रिइसी केरशअले भने।