रूकुम पश्चिमकी एक बालिकाको भेरी नदीमा डुबेर ज्यान गएको छ। अर्की एक किशोरी बेपत्ता छिन् भने एक किशोर घाइते छन्।
रूकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. १२ दुरनेटाका अमर डाँगीकी ११ वर्षीया छोरी गीताको नदिमा डुबेर मृत्यु भएको हो। उनकी १६ वर्षिय दिदी दिपा बेपत्ता छिन्। उनीहरूका १७ वर्षिय दाजु घाइते छन्।
नदिमा बग्दै गरेको देखेर स्थानीयले गिता र रामबहादुरलाई उद्धार गरि अस्पताल पुर्याएका थिए। नदिबाट उद्धार गरि जिल्ला अस्पताल जाजरकोट पुर्याएपछि उपचारकै क्रममा गिताको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी मधुकुमार थापाले सेतोपाटीलाई जानकारी दिए। गीतासँगै उद्धार गरिएका उनका दाजु रामबहादुरको अवस्था सामान्य भइसकेको छ।
गीताकी सहोदर दिदी १६ वर्षीया दीपा डाँगी भने नदीमा बगेर बेपत्ता छिन्। उनको खोजी जारी रहेको डिएसपी थापाले जानकारी दिए।
‘बेलुका अवेरसम्म खोज्दा पनि उनलाई फेला पार्न सकिएन’, थापाले भने, ‘भोलि बिहानदेखि पुनः उनको खोजी गरिनेछ।’
प्रहरीका अनुसार गीता,दीपा र रामबहादुर दाजुभाइका छोरा-छोरी हुन्। रामबहादुर एक भाइका छोरा हुन् भने गिता र दीपा अर्का भाइका छोरी हुन्।
जिल्ला प्रहरी कार्यालयका जाजरकोटका सूचना शाखामा कार्यरत प्रहरी हवल्दार हरि चपाईँका अनुसार उनीहरू रूकुम पश्चिमको दुरनेटाबाट जाजरकोटको भेरी नगरपालिकास्थित रावतगाँउमा आफन्तको मृत्युपछि शुद्धशान्तिका लागि पुगेका थिए।
शुद्धशान्तिको कार्यक्रमपछि घर फर्कने क्रममा उनीहरू भेरी किनारको शिवालय मन्दिर दर्शन गर्न गएको र गर्मी छल्न भन्दै सुरूमा रामबहादुर नदीमा पसेको प्रहरी हवल्दार चपाँईले सेतोपाटीलाई जानकारी दिए।
‘रामबहादुर ढुंगामा चिफ्लिएर नदीमा बगेपछि दाजु बचाउन दुई दिदी-बहिनी नदीमा हामफालेको खुल्न आएको छ,’ हवल्दार चपाँईले भने, ‘ती मध्ये बहिनी गीताको मृत्यु भइसक्यो भने दिदी दीपाको अवस्था अज्ञात छ। दाजु सामान्य घाइते छन्।’
मंगलबार बिहान साढे ११ बजेतिर उनीहरू बगिरहेको देखेपछि स्थानीयले गीता र रामबहादुरको उद्धार गरेर अस्पताल पुर्याएका थिए। दीपालाई भने फेला पार्न नसकिएको प्रहरीले जनाएको छ।