एटलस साइकलको पछाडि क्यारियरमा छिटनी छ। त्यो खस्न नपाओस् भनेर साइकलकै ट्युबले बाँधिएको छ।
छिट्नीभरि बोडी छ। भागिराम चौधरीले ल्याएको भिन्डी भने बिक्री भइसकेको रहेछ।
बिहीबार बिहान साढे ८ बजेतिर उनी सदनेवा गाउँमा तरकारी बेच्दै थिए।
तुलसीपुर उपमहानगरपालिका-१६ स्थित सदनेवा गाउँमा आउन उनले झन्डै १६ किलोमिटरको दूरी साइकल पेलेका थिए।
२४ वर्षीय चौधरी स्वयंलाई भने त्यो गाउँको नाम थाहा थिएन।
‘यो गाउँ, ठाउँको नाम त म जान्दिनँ,’ उनले भने, ‘म आज १६ किलोमिटर टाढा साइकलबाट तरकारी बेच्न आएको छु।’
चौधरीको घर तुलसीपुर-१४ मटेरा हो। बबई नदी पल्लो पट्टी चुरे पर्वतनजिकै उनको घर छ।
जहाँ उनले आफ्नै चार कठ्ठा जति जमिनमा बोडी, लौका, खुर्सानी, भिन्डीलगायत तरकारी रोपेको बताए।
उनी तरकारी फलेपछि तुलसीपुर र घोराही क्षेत्रका गाउँघरमा यसैगरी डुल्दै बेच्दै आउँदा रहेछन्।
उनले विगत दुई महिनादेखि आफूले उत्पादन गरेको ताजा तरकारी बेच्न गाउँघर डुल्दै आएको जानकारी दिए।
सामान्य अवस्था हुँदा तरकारी बेच्न तुलसीपुर बजारसम्म जाने गरेका भागिराम कोरोना महामारीको हल्ला व्याप्त बनेपछि भने कहिलै बजार प्रवेश नगरेको बताउँछन्।
उनले भने, ‘बजारमा भिडभाड हुन्छ र कोरोनाको जोखिम रहन्छ, गाउँघरमा त्यस्तो भिडभाड नहुने हुँदा डराउनु पर्दैन।’
बजार जाँदा-आउँदा प्रहरीले रोक्ने तथा हप्काउने गर्ने हुँदा बजार जान मन नलागेको भागिरामले बताए। गाउँघरमा डुलेर तरकारी बेच्दा कसैले केही नभन्ने र व्यापार गर्न सहज रहेको भागिरामको बुझाइ छ।
भागिरामले मास्क पनि लगाएका थिएनन्।
‘सुरूका दिनहरूमा मास्क लगाएको हो, तर अब भने लगाउन छोडेँ,’ भागिरामले भने, ‘गाउँघरमा कतै पनि भिडभाड हुँदैन, त्यसैले डराउनु पर्ने अवस्था मैले देखिनँ।’
भागिरामले आफूले हालसम्म खोप पनि नलगाएको र कोरोना पोजेटिभ पनि नभएको बताए।
‘साँझ-बिहान खेतबारीमा श्रम गर्नेहरू तथा अन्य कुनै पनि शारीरिक परिश्रम गर्नेहरूदेखि सायद कोराना पनि डराउँछ होला,’ उनले ठट्टा गर्दै भने, ‘मेहनती मानिसलाई भगवानले पनि हेरेका हुन्छन्।’
लकडाउनको समयमा पनि आफू कहिल्यै घरभित्र थुनिएर नबसेको तथा कहिल्यै उत्पादित तरकारी बिक्री गर्न जानबाट लकडाउनले नरोकेको नछेकेको उनले बताए।
‘म साइकलमा एक्लै हुन्छ र तरकारी किन्न आउनेहरू पनि टाढैबाट आफैं तरकारी छानेर छिट्नीमै पैसा छोडेर जान्छन्, त्यतिकैमा त कोरोना सर्दैन रहेछ,’उनले भने।
लगातारको लकडाउनले गर्दा श्रम गरेर खाने मानिसहरू रोगले भन्दा पनि भोकले मर्नुपर्ने अवस्था नआओस् भन्नका लागि किसानहरू सावधान भएर खेतबारीको काममा खटिनु पर्ने जरूरी रहेको उनले बताए।
‘किसानले एक वर्ष मात्रै काम नगरे देश बर्बाद हुन्छ, खाद्यान्नको हाहाकार हुने निश्चित छ,’ उनले भने, ‘नेताले त भाषण मात्रै गर्ने हुन्, किसानले काम नगरे दुनियाँको भोक कसरी टार्ने?’
आफूजस्ता किसानलाई केही नगरी घरमा त्यसै बस्न नसुहाउने तथा त्यसै बसेर खानसमेत नपुग्ने उनले बताए।
यो लकडाउनको बीचमा आफूले व्यापार गर्ने तरिका सिक्न पाएको उनले बताए।
बिहानभर आसपासका गाउँघर डुल्दै तरकारी बेच्दा दैनिक कम्तीमा पनि एक हजार, बाह्र सयको बिक्री गर्ने गरेको जानकारी दिए। एक सिजनमा तरकारी बेचेर ४०-५० हजार बचत गर्ने गरेको उनले बताए।
‘बिहानभर तरकारी बेच्न डुल्यो र दिनभर आफ्नो घरायसी कामधन्दा गर्यो,’ भागिरामले भने, ‘म मोटरसाइकल प्रयोग गर्दिनँ, त्यसैले मेरो पूरै बचत हुन्छ।’
डुलाएर तरकारी बेच्न जाँगर चाहिने र संकोच पनि मान्न नहुने उनको बुझाइ छ।
‘आफूले मेहनत गरेर उब्जाएको कुरा बेच्न लाज किन मान्ने,’ उनले प्रश्न गरे, ‘विदेशमा गएर जस्तोसुकै काम गर्न तयार हुने, तर आफ्नै गाउँठाउँमा यति सजिलो काम पनि गर्न लाज मान्ने हो भने प्रगति कसरी हुन्छ?’
मावि भोजपुरमा कक्षा १० मा पढ्दापढ्दै घरायसी समस्याका कारण भागिराम कुनै दिन विदेश गए।
कलिलै उमेरमा कतार पुगेका उनले कडा शारीरिक श्रम गर्नुपर्यो। जहाँ उनले भवन निर्माणसम्बन्धी काम गरे। ‘अर्काको देशमा बाँच्नका लागि जे पनि काम गर्नुपर्यो,’ उनले भने, ‘त्यहाँ हामीले भनेको कसले सुन्छ र? जे काम दिन्छ त्यही काम गर्नुको विकल्प थिएन।’
त्यहाँबाट घर फर्किएर तरकारी खेती गर्न थालेको भागिरामले बताए। उनका अभिभावकले घर गुजाराका लागि खेतीपाती गर्दै आएका थिए।
अविवाहित भागिराम परिवारको जेठो छोरा हुन्। त्यसैले पनि उनको काँधमा घर परिवारको जिम्मेवारी पनि छ।
उनीमुनिका जुम्ल्याहा भाइहरू राम-लक्ष्मणमध्ये लक्ष्मण मावि भोजपुरमा प्लस टुमा पढ्छन्। भाइ रामले पनि एसइई उत्तीर्ण गरी आर्थिक अवस्थाकै कारण पढ्न छोडेको भागिरामले बताए।
भने, ‘हामीले त पढ्न पाएनौं, तर अब भाइ लक्ष्मणले राम्रोसँग पढ्न पाओस्, उसलाई कुनै कुराको अभाव नहोस् भनेर पनि मैले मेहनत गरिरहेको छु।’
अब विदेश नजाने र कृषि कर्म गरेरै जीवनयापन गर्ने सोच बनाएको भागिरामले बताए।
सबै तस्बिर र भिडिओ: नारायण खड्का/सेतोपाटी