संसारभरका मानिसको ध्यान खिचेको चिनियाँ जंगली हात्तीको समूहबाट एउटा हात्ती छुटेको छ। आफ्नो बासस्थान छाडेर गन्तव्यविहीन यात्रामा निस्केका १५ जंगली हात्तीमध्ये एउटा हात्ती शुक्रबार समूहबाट छुटेको हो। यी हात्तीहरू अहिलेसम्म ५०० किलोमिटर बढी हिँडिसकेका छन्।
चिनियाँ मिडियाका अनुसार एउटा भाले हात्तीलाई १२ किलोमिटर पछाडि छाडेर समूह उत्तरतिर लागेको हो।
करिब एक वर्षअघि लामो यात्रामा निस्किएका हात्तीहरू केही दिन अघिमात्रै सुस्ताएको भिडिओ तथा तस्वीर सार्वजनिक भएको थियो। अहिले फेरि १४ वटा हात्ती युक्सी शहरबाट निस्किएर खेतमा लस्करै हिँडिरहेको तस्वीर बाहिरिएको छ।
त्यसअघि ती हात्ती युनान प्रान्तको एक जंगलमा आहारा खोजेका थिए भने केहीबेर खेलेका पनि थिए।
हात्तीहरूका कारण अर्डरहरू रोकिएपछि फलफूल तथा तरकारी कम्पनीमा हजारौंले गुनासोसमेत गरेका छन्। ३३ हजार जनाको अर्डर स्थगित गरिएको छ।
युनानको सिसुवाङबन्ना स्वशासित क्षेत्रस्थित जंगल छाडेर निस्किएका ती हात्तीलाई सहरमा पस्न नदिन अधिकारीहरूले विभिन्न उपाय लगाएका छन्। हात्ती हिँड्न लागेको बाटोलाई बन्द गरेर मानिसलाई रोकिएको छ, बस्ती पस्न नदिन ठूला गाडी, पर्खालले छेकिएको छ।
चिनियाँ अधिकारीहरूले उनीहरूको निगरानी गर्न अहिले ४ सय जना मानिसलाई खटाएका छन्। थुप्रै ड्रोनहरूले उनीहरूलाई पछ्याइरहेका छन्। मानिस, ड्रोन र ट्रकहरूले उनीहरूले हात्तीलाई २४ घन्टा निगरानी गरिरहेका छन्।
गत वर्ष जंगल छाड्दा १६ वटा हात्ती थिए। तर एउटा हात्ती बासस्थानतर्फ फर्किएको थियो।
त्यसपछि बीच बाटोमै दुई वटा हात्ती जन्मिएको नेशनल फोरेस्ट्री एन्ड ग्रासल्यान्ड एड्मिनिस्ट्रेसनले बताएको छ।
गत अप्रिलमा १७ वटा हात्ती उत्तरी युआनजियाङ्ग काउन्टी पसेपछि अधिकारीहरू सतर्क भएका थिए। त्यहाँ पुगेपछि फेरि दुइटा हात्ती पहिला आएको जंगलतिर फर्किएका थिए।
हात्तीहरू लामो यात्रामा निस्किएपछि अहिले नौ वटा ड्रोन, ट्रक र ७६ प्रहरी गाडीसहित ३६० बढी मानिस परिचालन भएका छन्। हात्तीलाई खुवाउन १८ टन खाना बनाइएको छ।
सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार अहिलेसम्म हात्तीको यो बथानले मानवीय क्षति गरेको छैन। तर ५६ हेक्टर बढी जमिनमा गरिएको खेतीमा क्षति पुर्याएको छ।
एसियाली हात्ती विज्ञ चेन मिङयोङ्गले चीनमा हात्तीहरू यसरी पहिलो पटक लामो दूरीमा हिँडेको बताए।
'एसियाली हात्तीहरू बसाइ सर्नु सामान्य हो तर यो केही सीमित क्षेत्र भित्रमात्रै हुने गर्छ। यसरी यति लामो दूरीको यात्रा गर्नु एकदमै दुर्लभ हो,' चेनले भने,'उनीहरूको गन्तव्य कहाँ हो भन्ने हामी भन्न सक्दैनौं।'
उनले हात्तीको यो बथानको नाइकेसँग अनुभवको कमीले सबै हात्ती गलत दिशामा लागेको हुनु पर्ने बताए।