भारतको उत्तर प्रदेशको प्रतापगढमा पत्रकार सुलभ श्रीवास्तव मृत अवस्थामा फेला परेका छन्। आइतबार राति एक इँटाभट्टाको छेउमा उनी घाइते फेला परेका थिए।
प्रहरीले यसलाई दुर्घटना भने पनि मृतकका परिवारले हत्याको आशंका गरेका छन्। यो घटनाले अहिले उत्तर प्रदेशको राजनीति पनि तातेको छ। ।
श्रीवास्तव एबिपी न्यूजका संवाददाता थिए।
प्रतापगढका प्रहरी अधिकृत एसपी आकाश तोमरले प्रारम्भिक रूपमा हेर्दा उनको मृत्यु दुर्घटनाका कारण भएको बिबिसी हिन्दीलाई बताएका छन्। यसबारे थप अनुसन्धान पनि भइरहेको उनले जानकारी दिएका छन्।
'घटनाका केही प्रत्यक्षदर्शी पनि छन्। उनीहरूले यो दुर्घटना भएको बताएका छन् र थप जानकारी पोष्टमार्टम रिपोर्ट आएपछिमात्रै थाहा हुन्छ,' एसपी तोमरले भने।
घटनाको एक दिनअघि मात्रै श्रीवास्तवले इलहावाद क्षेत्रका अतिरिक्त प्रहरील महानिर्देशक र प्रतापगढ पुलिस अधिकृतलाई पत्र लेखेका थिए। उनले त्यस पत्रमा आफ्नो हत्या हुनसक्ने उल्लेख गरेका थिए।
उनले रक्सी माफियाबारे समाचार लेखेपछि धम्की आएको र दुई दिनदेखि आफूलाई कसैले पछ्याउँदै गरेको भन्दै आफ्नो ज्यान खतरामा रहेको बताएका थिए।
स्थानीय पत्रकार मनोज त्रिपाठीका अनुसार उनी रिपोर्टिङ गरेर राति नौ बजे लालगंजबाट मुख्यालय फर्किरहेका थिए। त्यसैबीच बाटोमा घटना भएको हो।
पछिपछि आउँदै गरेका पत्रकार साथीहरूले सुलभलाई देखेपछि जिल्ला अस्पतालमा भर्ना गरेका थिए। तर चिकित्सकहरूले केहीबेरमै मृत घोषणा गरेका थिए।
रक्सी माफियाको समाचार लेखेदेखि नै श्रीवास्तवमाथि कसैले निगरानी गरिरहेको श्रीमती रेणुले बताएकी छन्। सुरक्षाका लागि प्रशासनमा पत्र लेखे पनि सुरक्षा पाउनुअघि नै आफ्ना पतिको हत्या भएको उनको भनाइ छ।
राजनीतिक दलका नेताहरूले पनि सुलभको मृत्युबारे प्रदेश सरकारसँग प्रश्न गरेका छन्।
आम आदमी पार्टीका सांसद संजय सिंहले यसलाई हत्या भनेका छन्। उनले आफ्नो ट्विटमार्फत सो कुरा लेखेका हुन्।
'रक्सी माफियाको विरूद्धमा समाचार लेखेको कारण युपीमा एक पत्रकारको हत्या हुन्छ। जबकी एक दिन पहिलामात्रै सुलभजीले एडिजीलाई पत्र लेखेर हत्याको आशंका गरेका थिए। तर सबै सुत्दै बस्छन्,' उनले लेखेका छन्।
कांग्रेसका महासचिव प्रियंका गान्धीले पनि सुलभको मृत्युबारे योगी आदित्यनाथको सरकारमाथि प्रश्न गरेकी छन्।
'जंगलराजको पालनपोषण गर्ने युपी सरकारसँग पत्रकार सुलभको आफन्तका आँशुका लागि केही जवाफ छ?,' उनले लेखेकी छन्।
प्रतापगढका एसपी आकाशमाथि श्रीवास्तवले पठाएको पत्रबारे सोध्दा उनले आफू केही दिनअघि देखि विदामा भएको बताएका छन्।