लगातार तीन दिनदेखिको अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरूद्ध भएको छ।
सुर्खेत–जुम्ला सडकका ठाउँ-ठाउँमा पहिरो खस्दा राजमार्ग अवरूद्ध भएको हो।
दैलेखको किटु, कालिकोटको गगनेखोला, हुल्म, सुनार खोला, पिली सेराबाड़ा, खल्लागाड र भिग्ममा पहिरो खसेको जनाइएको छ।
आज पहिरो पन्छाए पनि वर्षा नरोकिएकोले पुनः अवरूद्ध भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए।
‘राजमार्ग अवरूद्ध हुँदा कालिकोट, जुम्ला र मुगुका लागि दैनिक उपभोग्य सामान र निर्माण सामग्री बोकेर आएका गाडी बाटोमा रोकिएका छन्’,उनले भने,‘वर्षा नरोकिएका कारणले पहिरो पन्छाएपनि पुनः पहिरो आउँदा राजमार्ग खुलाउन समस्या भएको छ।’रासस