चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ता अहिले एउटा बङ्गुरको मृत्युमा शोक व्यक्त गरिरहेका छन्।
१४ वर्षको उक्त बङ्गुर सामान्य बङ्गुरजस्तो थिएन। त्यो चिनियाँहरूमाझ आशाको प्रतीक बनेर रहेको थियो।
सन् २००८ मा चीनको दक्षिण पश्चिमी प्रान्त सिचुवानमा ७.९ म्याग्नेच्युडको भूकम्प गएको थियो। भूकम्पमा परी हजारौं मानिसहरूको मृत्यु भयो। त्यतिबेला फुच्चे बङ्गुर पनि भूकम्पले भत्काएका भग्नावशेषमा पुरिएको थियो।
अचम्म त के भयो भने भूकम्पको ३६ दिनपछि उद्धारकर्ताहरूले बङ्गुरलाई जिवितै फेला पारे।
त्यही बेला त्यो बङ्गुरको नाम झु जियानकियाङ राखियो। जसको अर्थ बलियो इच्छाशक्ति भएको बंगुर भन्ने हुन्छ। हाड र छालामात्रै बाँकी रहेको बङ्गुरलाई धेरैले त्यही बेला आशाको प्रतीक मानेको द गार्डियनले उल्लेख गरेको छ।
भूकम्पमा ९० हजार मानिसले ज्यान गुमाए। तर बङ्गुर बाँचेपछि पर्यटकीय आकर्षण बन्न थाल्यो। त्यसपछि त छेन्दु शहर नजिकैको स्थानीय संग्राहलयले ३ हजार युआन (४५० डलर)मा किनेर राख्यो।
बङ्गुर हेर्नकै लागि बच्चादेखि बुढापाका संग्राहलयमा जान्थे। संग्राहलयमा जानेहरूले बङ्गुरसँग बसेर फोटो र भिडिओ खिच्थे।
बुधबार साँझ चिनियाँ सामाजिक सञ्जाल विइबोमार्फत् संग्राहलयले बङ्गुर मरेको जानकारी गरायो। अहिले चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताले बंङ्गुरको मृत्युमा शोक सन्देशहरू पोष्ट गरिरहेका छन्।
विइबोमा बङ्गुर मरेको शोक ह्यासट्याग 'स्ट्रङ पिग डाइड' प्रयोग भइरहेको छ। विइबोका प्रयोगकर्ताहरूले इतिहासकै सबैभन्दा चर्चित बङ्गुर भनेर उसको तारिफ गरेका छन्।