सल्यानमा धान रोप्न गएका १२ किसान शारदा नदीमा आएको बाढीमा फसेपछि नेपाली सेनाले रूखमा स्ट्रेचर बाँधेर उद्धार गरेको छ।
नदीको भंगालोमा फसेका १२ जनाको सकुशल उद्धार भएको सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले सेतोपाटीलाई बताए।
‘मध्यान्ह १२ बजेदेखि साँझ साढे ६ बजेसम्म नेपाली सेनाले नदीको भंगालोमा फसेका १२ जनाको सकुशल उद्धार गर्न सफल भएको छ,’ डिएसपी थापाले भने।
उनले एकापट्टि रूख र अर्कोपट्टि पोलमा डोरी बाँधेर बीचमा स्ट्रेचर राखी उद्धारको काम भइरहेको जानकारी दिए।
शारदा नगरापालिका वडा नं. ६ करलाका स्थानीय बिहान दश बजे खेतमा धान रोप्न भनी नदीको भंगालो फाटेको ठाउँमा गएका थिए। त्यसको दुई घन्टापछि १२ बजेतिर शारदा नदीमा बाढी आएपछि उनीहरूले गुहार मागेका थिए।
त्यसपछि नेपाली सेना, नेपाल प्रहरीसहित झन्डै ४५ जना सुरक्षाकर्मी घटनास्थलमा उद्धारको लागि खटिएको डिएसपी थापाले बताए।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईं, डिएसपी थापा, वडाध्यक्ष भीकराज बुढाथोकीलगायत सर्वसाधारण पनि घटनास्थलमा सहायताको लागि खटिएको डिएसपी थापाले जानकारी दिए।
दुईतर्फ नदीको भंगालोमा फसेका १२ किसानको उद्धारको लागि प्रमुख जिल्ला अधिकारीले हेलिकप्टर मागेको भए पनि लगातार वर्षा र कुहिरोका कारण हेलिकप्टर आउन नसकेपछि आफैं सेनाले स्ट्रेचर बाँधेर उद्धार थालेको डिएसपी थापाले बताए।
बिहान नदीको अवस्था सामान्य रहेका कारण भंगालो फाटेको बीचको खेतमा ३ घर परिवारका १२ जना धान रोप्न बिहान गएका थिए।
त्यसमध्ये ३ जना महिला र ९ जना पुरूष बीचमा फसेका थिए।