शुक्रबार बिहान साढे ८ बजे दाङको तुलसीपुर उपमहानगरपालिका-१६ की २२ वर्षीया माया चौधरीको घरबाट पत्पती धुँवा उडिरहेको थियो। ११ महिनाकी छोरी आशिकालाई पिठ्युँमा बोकेर माया आगो फुकिरहेकी थिइन्।
लगातारको वर्षाले आधा भत्किएको घरभित्र अलि ओभानो ठाउँमा मायाले माटाको चुलो बनाएकी रहिछन्। चुलोमा गुइँठा र तीन वटा दाउरा थिए। गुइँठा र दाउरा उनले जेठानी दिदी सरिता चौधरीसँग मागेर ल्याएकी थिइन्।
उनका श्रीमान् जग्गु चौधरी, देवर र सासुआमा ४७ वर्षीया राममती चौधरी खेतमा काम गर्न गएका थिए। बिहीबार बिहान ११ बजे मायाको घरको पछाडिपट्टीको गाह्रो पूरै भत्किएको थियो।
परिवारका सदस्य खाना खाँदै थिए, त्यहीबेला आकाश गडगडायो।
बाहिर निस्केर हेर्दा घरको पछाडिपट्टिको गारो ढलिसकेको थियो। धन्न, उनीहरूलाई केही भएन।
मायाका अनुसार वडा कार्यालयका मानिसहरू आएर उनको फुस (खर)को छानो हटाउन लगाएका थिए।
‘खरको छानो फाले टिन (जस्तापाता)को छाना हालिदिन्छौं भन्ने आश्वासन दिनुभएको थियो,’ मायाले भनिन्, ‘एक महिना बिते पनि वडा कार्यालयले हामीलाई टिन दिएन। बरू घरै ढल्यो।’
यो एक महिनामा उनीहरू प्लाष्टिकको ओत लगाएर बसिरहेका थिए। बुधबार तुलसीपुरस्थित हिमाल बोर्डिङ स्कुलका प्रिन्सिपल मधुसुदन केसीले त्रिपाल दिएका थिए।
वर्षाले भिजिसकेको गाह्रो त्रिपाल लगाएको दोस्रो दिन नै भत्कियो।
घर भत्किएपछि मायाको ६ जनाको परिवार जेठानी दिदी सरिताको झिँगटीले बारेको छाप्रोमा सरेको छ।
जहाँ न एउटा खाट छ, न राम्रो ओढ्ने ओछ्यान र कपडा नै। अविरल वर्षाका कारण झिँगटीले बारेको घरभित्र जताजतै चिसो थियो।
‘यही घरमा वस्तु, चौपाया र मानिस सँगै भुइँमा सुत्नुपर्ने बाध्यता छ,’ मायाले भनिन्, ‘कपडा पनि छैन, भिजेको जमिनबाट चिसो आउँछ, बाल-बच्चा जोगाउनै मुस्किल छ।’
मायाकी सासुआमा राममती चौधरीका अनुसार वडा कार्यालयका मानिसहरूको आग्रहमा गत जेठमै छानो फालिएको थियो।
‘खरको छानो फाल र घर केही थपेर ठूलो बनाउनू, अनि हामी टिन दिन्छौं भन्दै वडा कार्यालयका मानिसहरूले आश देखाए,’ राममतीले भनिन्, ‘हामीले उहाँहरूले भनेको जस्तै सबै काम पूरा गर्यौं, तर टिन पाएनौं। त्यसैले, हाम्रो घर नै भत्कियो।’
चौधरी परिवारले घर बनाएको जग्गा ऐलानी हो। झन्डै आधा कठ्ठा क्षेत्रफल रहेको यो घरबाहेक अन्त कतै उनीहरूको जमिन छैन।
ज्याला मजदुरी गरेर घरपरिवारको जीविकोपार्जन भइरहेको छ। राममतीका श्रीमान हरिरामको २०५९ सालमा ३२ वर्षको उमेरमा मृत्यु भएको थियो। त्यसपछि राममती खोला किनारको यही स्थानमा बस्न थालिन्।
ज्याला मजदुरी गरेर उनले जसोतसो साना बालबालिका हुर्काइन्। छोरा अलि ठूला भएपछि उनीहरू आफैंले यो घर निर्माण गरेका थिए। त्यही घर पनि भत्किएपछि अब कहाँ जाने भन्ने चिन्ताले राममतीलाई सताएको छ।
वडा कार्यालयकै कारण आफूहरूको बिचल्ली भएको गुनासो उनले गरिन्।
वडा कार्यालयका मानिसहरूकै आग्रहमा उनले एक महिनाअगाडि तुलसीपुर बजार पुगेर बैंकमा खाता पनि खोलेकी थिइन्। खाता खोले मात्रै टिन किन्ने पैसा पाइन्छ भनेको हुँदा जीवनमा पहिलो पटक बैंकमा खाता खोल्न गएको उनले बताइन्।
‘कर्मचारीले टिनको छाना लाउन ५० हजार रुपैयाँ खातामा हाल्दिन्छौं भन्नुभयो,’ उनले भनिन्, ‘तर, अहिलेसम्म मेरो खातामा एक पैसा पनि आएको छैन।’
यो बीचमा राममती वडा कार्यालय कति धाइन् गन्ती छैन।
‘सुरू-सुरूमा वडा कार्यालय जाँदा काम हुन्छ, भोलि पाउनुहुन्छ, पर्सि पाउनुहुन्छ भन्दै टार्न थाले,’ उनले भनिन्, ‘तर, अलि दिनपछि कतैबाट ऋण खोजेर घरमा टिन हाल्नुस्, हामी लागेको पैसा दिन्छौं भन्न थाले।’
छरछिमेक कसैले पनि त्यति रकमका लागि नपत्याएकाले ऋण खोजेर घरमा टिन हाल्न नसकेको उनले बताइन्।
घर भत्किएर बिचल्ली हुँदा वडाका कर्मचारी र जनप्रतिनिधि कोही नआएको उनले गुनासो गरिन्।
वडाध्यक्षले भने - म वडा कार्यालय गएको छैन, आज बुझ्छु
तुलसीपुर उपमहानगरपालिका-१६ का वडाध्यक्ष भूपबहादुर केसीले वडामा कसैको घर भत्किएको सूचना आफूले नपाएको बताए।
‘आजकल दिनहुँजसो नगरपालिकाको बैठक भइरहन्छ, कहिले बिहान, कहिले दिउँसो जानुपर्छ, नीति तथा कार्यक्रमको समय छ,’ वडाध्यक्ष केसीले भने, ‘त्यसैले, धेरै भयो म कार्यालय जान भ्याएको छैन।’
आफ्नो वडामा सुरक्षित आवास कार्यक्रमअन्तर्गत यो पटक ४१ जना परिवारको खरको छानो विस्थापित गर्ने योजना अनुरूप काम भइरहेको केसीले जानकारी दिए।
छनोटमा परेकाबाहेक आफूले अरू कसैलाई पनि खरको छानो फाल, घर भत्काऊ र हामी टिनको छानो हालिदिन्छौं भनेर नभनेको उनले बताए।
‘राममती चौधरीका बारेमा के भएको रहेछ, म कार्यालय गएपछि बुझेरमात्रै तपाईंलाई भन्न सक्छु,’ अध्यक्ष केसीले भने।
शुक्रबार स्थानीय नेपाली कांग्रेसका नेताहरू मिलेर चौधरी परिवारलाई आर्थिक सहयोग गरेका छन्।
खुमराज वलीको आह्वानमा शुक्रबार बिहान घटनास्थलमा भेला भएका कांग्रेस नेता कार्यकर्ताले चौधरी परिवारलाई नगद १७ हजार ५ सय, तीन हजार ५ सय रूपैयाँको चामललगायत खाद्यान्न र केही खाद्यान्न सहयोग प्रदान गरेका हुन्।
तुलसीपुर-१६ का वडा इकाई सभापति ज्ञानबहादुर केसीले पीडित चौधरी परिवारलाई रकम हस्तान्तरण गरेका थिए।
हनुमान इँटा उद्योगका प्रोप्राइटर मोहन घर्तीले नि:शुल्क तीन ट्याक्टर इँटा सहयोग घोषणा गरेका छन्।