नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्समाथि कुटपिटको आरोप खेपेका दाङका तीन जना जनही ५० हजार धरौटी बुझाएर आइतबार छुटेका छन्।
बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले अस्पतालका डाक्टर/नर्समाथि कुटपिट गरेको आभियोगमा थुनामा रहँदै आएका नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य दाङ तुलसीपुरका मानबहादुर रावतसहित भरत रावत र लोकराज रावतलाई जनही ५०/५० हजार धरौटीमा छोड्न आदेश दिएको हो।
बाँके जिल्लाका अदालतका स्रेस्तेदार तीर्थ भट्टले तोकिएको धरौटी बुझाएर तीनै जना आइतबार नै रिहा भएको जानकारी दिए।
गत जेठ १३ गते बेलुकी ८ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको कोरोनाका कारण मृत्यु भएपछि उनीहरूले उपचारमा लापरबाही भएको भन्दै त्यहाँ कार्यरत डाक्टर र नर्सहरूमाथि कुटपिट तथा तोडफोड गरेका थिए।
अस्पतालका डाक्टर र नर्सहरू आक्रमणको विरोधमा आन्दोलनमा उत्रिएपछि सोही दिन राति प्रहरीले उनीहरू तीन जनालाई पक्राउ गरी थुनामा राख्दै आएको थियो।
घटनाको चौतर्फी भर्त्सना भएपछि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो। उक्त समितिले घटनाको ५ दिनपछि २५ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो।