भद्रपुर नगरपालिकाले मेचीनगरको गोकुलमार्गमा खाल्डो खनेर अवरोध पुर्याएपछि मेचीनगरबासी आक्रोशित भएका छन्।
पूर्वीनाका काँकडभिट्टाबाट भद्रपुरको मेची अस्पताल, मेची बहुमुखी क्याम्पस र चन्द्रगढी विमानस्थल पुग्ने सबभन्दा छोटो बाटोको रूपमा स्तरोन्नति भइरहेको गोकुलमार्गमा भद्रपुर नगरपालिकाले स्काभेटरमार्फत ठूला-ठूला खाल्डो खनेर आवागमन बन्द गराएपछि उनीहरू आक्रोशित भएका हुन्।
मेचीनगर नगरपालिका-१५ र भद्रपुर नगरपालिका-९ को सिमानास्थित हँडिया खोलामा हालै पक्की पुल बनेको छ।
चलनचल्तीको सडकमा खाल्डो खनेर अवरोध पुर्याइएपछि मेचीनगरबाट भद्रपुरतर्फ एम्बुलेन्स, निजी सवारी साधन र कलकारखानाका कच्चा सामान बोकेको मालबाहक गाडीहरू खोलाको किनारै किनार उत्तरतिर करीव ९०० मिटर घुमाउरो बाटो भएर जान बाध्य भएको मेचीनगर–१५ का वडाध्यक्ष गुणराज भट्टराईले जानकारी दिए।
‘भद्रपुर नगरपालिकाका प्रमुखलाई भेटेर धेरैपटक सीधा बाटोमा अवरोध नगरिदिनुहोस् भनेर ध्यानाकर्षण गराइसक्यौं,’ वडाध्यक्ष भट्टराईले भने, ‘हाम्रो कुरा उहाँले सुन्नै मान्नुभएन। सार्वजनिक बाटोमा अवरोध पुर्याउनु अन्याय हो।’
भद्रपुर नगरपालिकाले साविकको सडकबाट पुल दक्षिण सारेर बनाइएको हुँदा समस्या आएको जनाएको छ।
पुलको मुखबाट उत्तरतिर मोडिएको घुमाउरो बाटो नै प्रयोग गर्न भद्रपुरले मेचीनगरलाई आग्रह गरिरहेको छ। तर मेचीनगरबासीले वर्षौदेखि प्रयोग गर्दै आएको सडकबाट नै आवतजावत गर्न पाउनुपर्ने माग गरिरहेका छन्।
हाल विवाद रहेको सडक भद्रपुर नगरपालिकाले निर्माण गरिरहेको साइन्स सिटी (पर्यटकीय क्षेत्र)को जग्गामा पर्छ।
साइन्स सिटीबाट सडक दिन नसकिने जनाउँदै भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले उत्तरतिरको घुमाउरो बाटो नै प्रयोग गरिनुपर्ने बताए।
‘साइन्स सिटीको बीचबाट हामीले बाटो दिन सक्दैनौं,’ उनले भने, ‘उहाँहरू अलिकति घुमेर जाँदा के फरक पर्छ र ?’
बरु घुमाउरो बाटोलाई फराकिलो र स्तरीय बनाइदिन आफूहरू तयार रहेको उनको भनाइ छ।रासस