मध्यरातमा दुई महिलालाई बन्धक बनाई जंगलमा लगेर बलात्कार गर्नेमध्येका फरार दुई युवकको खोजी कार्य प्रहरीले तीव्र पारेको छ।
आइतबार रातिको घटनापछि लमही नगरपालिका वडा नं. ७ कमानपुरका अन्दाजी २०/२२ वर्षीय प्रेम परियार र लमही ६ देउपुरका सोही उमेर समूहका अर्जुन चौधरी (अरबिन) फरार छन्।
वडा प्रहरी कार्यालय लमहीका प्रमुख तथा प्रहरी निरीक्षक राजन पौडेलले फरार अभियुक्तबारे देशैभरि फोटोसहितको हुलिया परिपत्र गरिसकेको जानकारी दिए।
‘आरोपितहरू उम्केर जान सक्ने सम्भावना छैन,’ पौडेलले भने, ‘अहिले इण्डिया छिर्न पनि सजिलो छैन।’
फरार व्यक्तिहरू यसअघि पनि चोरी मुद्दामा जेल परेकोहरू हुन्।
अर्जुन चोरी डाँका मुद्दामा एक वर्ष जेल सजाय भोगेर केही समय अगाडिमात्रै छुटेको प्रहरीले जनाएको छ।
हाल प्रहरी नियन्त्रणमा रहेका लमही ७ कमानपुरका २१ वर्षीय किरण बुढा पनि १५ दिन अगाडिमात्रै चोरी मुद्दामा जेल परेको अनुसन्धानबाट खुल्न आएको प्रहरी निरीक्षक पौडेलले बताए।
‘यिनिहरू पटके चोरहरू रहेछन्, जो पटक/पटक चोरी मुद्दामा जेल पर्दै छुटेको अनुसन्धानले खुल्न आएको छ,’ पौडेलले भने।
प्रहरीले टिपर चालकको साथबाट लुटिएको मोबाइल र नगद २६ हजार ४ सय ५० रूपैयाँ प्रेम परियारको घरबाट बरामद भइसकेको पौडेलले बताए।
‘हामीले आरोपित तीनै जना युवकको घरहरू खान तलासी गर्यौं,’ पौडेलले भने, ‘दुई जनाको घरबाट घटनासँग सम्बन्धित कुनै चिज वस्तु फेला परेन, तर प्रेमको घरबाट ती सामान बरामद भएका छन्।’
बरामद भएको मोबाइल र पैसा सनाखतपछि पीडित चालकलाई प्रदान गरिसकेको प्रहरीले जनाएको छ।
‘घटनाको मुख्य योजनाकार नै प्रेम रहेछ,’ पौडेलले भने, ‘प्रेमले ५ दिन अगाडि आफ्नै बुवालाई समेत कुटपिट गरेको कुरा अनुसन्धानबाट खुलेको छ।’
घटनामा संलग्न व्यक्तिहरू पटक/पटक अपराधिक गतिविधिमा संलग्न रहेको देखिन आएको हुँदा उनीहरू घटनापछि ठाउँ छोेडेर भागेता पनि सबैतिर प्रहरीले निगरानी बढाएको पौडेलले बताए।
आइतबार राति दश बजेतिर रोल्पाबाट दाङको लमही ७ स्थित सम्राट सिमेन्ट उद्योगमा चुन ढुंगा छोडेर फर्किंदै गरेको टिपरलाई रोकेर तीन युवाले तरवार देखाई चालक र सहचालकलाई रूखमा बाँधेर चालककी श्रीमती र सालीमाथि जबरजस्ती सामूहिक बलात्कार गरेका थिए।
सोमबार पीडित महिलाहरूको स्वास्थ्य परीक्षण गरिएको र रिपोर्टमा दुबै जनामाथि बलात्कार भएको देखिन आएको प्रहरीले जनाएको छ।
प्रहरी नियन्त्रणमा रहेका किरण बुढाले घटना स्वीकार गरिसकेको प्रहरीले जनाएको छ।
पीडितले सोमबार नै वडा प्रहरी कार्यालयमा गएर लिखित जाहेरी दिइसकेका छन्।
सोही जाहेरीको आधारमा प्रहरीले मंगलबार तीन वटा शीर्षकमा तीन जनाविरूद्ध मुद्दा दर्ता गरेको छ।
जबरजस्ती करणी, अपहरण तथा शरीर बन्धक तथा डकैती शीर्षकमा मुद्दा चलाएर कारबाही सुरू गरिएको प्रहरी निरिक्षक पौडेलले बताए।
जिल्लाका प्रहरी अधिकारीहरूले पनि घटना निकै संवेदनशील र जघन्य अपराध भएको हुँदा फरार अभियुक्तहरूको खोजी कार्य तीव्र पारिएको जनाएका छन्।
यो पनि:
मध्यरातमा श्रीमानलाई रूखमा बाँधेर श्रीमती र सालीमाथि सामूहिक बलात्कार