तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा रूखमाथि निर्माण गरिएको घरमा सर्वसाधारणलाई प्रतिबन्ध लगाइएको छ।
कोरोना कहर र निषेधाज्ञाको बीचमा पनि आकर्षणस्थल बनेको यस ठाउँमा केही समयका लागि सर्वसाधारणलाई प्रतिबन्ध लगाइएको हो।
सर्वसाधारणको भीड बढेपछि प्रहरीले त्यहाँ पुगेका सर्वसाधारणलाई फिर्ता पठाएको छ।
केही समयका लागि सर्वसाधारणको आगमन रोक्न प्रहरीले समितिलाई अनुरोध गरेको सव डिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले जनकारी दिए।
‘दैनिक रूपमा सर्वसाधारणको आगमन बढेपछि केही समयका लागि बन्द गर्न प्रहरीबाट अनुरोध आएको छ, त्यहाँ थप केही काम पनि बाँकी रहेकाले दश/१५ दिन प्रवेश निषेध गरेका हौं,’ उनले भने।
हरियाली उद्यानसहित निर्माण गरिएको घरमा भर्याङ हाल्ने बाँकी छ। साथै उद्यानमा रेलिङको काम पनि बाँकी छ।
रूखमाथि बनेको घर जिल्लाकै नयाँ पर्यटकीय गन्तव्य हो। डिभिजन वन कार्यालय तनहुँको आर्थिक सहयोगमा सामुदायिक वनमा हरियाली उद्यानसहित रूखमाथि घर बनाइएको छ।
उद्यान निर्माणका लागि वन कार्यालयले रु १२ लाख ५० हजार आर्थिक सहयोग गरेको छ। त्यसमा सामुदायिक वनले २० प्रतिशत अर्थात् रु दुई लाख ५० हजार लागत सहभागिता बेहोरेको छ।
कूल १५ लाखको लागतमा उद्यान निर्माणको काम गरिएको हो।
डिभिजन वन कार्यालय तनहुँमार्फत् गत आर्थिक वर्षमा जिल्लाका तीन ठाउँमा उद्यान निर्माण गरिएको थियो।
भीमाद नगरपालिका–१ किहुँस्थित शिवशक्ति सामुदायिक वन, शुक्लागण्डकी नगरपालिकास्थित च्वयनधाम र व्यास नगरपालिका–१४ स्थित छाब्दी वाराहमा पर्यापर्यटन उद्यानका लागि वन कार्यालयले आर्थिक सहयोग गरेको थियो। रासस