बेलायतमा सर्वोच्च पदक भिक्टोरिया क्रस पाएका तुलबहादुर पुनको नाम उल्लेखित रेल सञ्चालनमा आएको छ।
बुधबार लन्डन प्याडिङ्टनमा पुनका छोरा अर्जुन र छोरी मेघकुमारी सहभागी एक कार्यक्रमबीच 'तुलबहादुर पुन' लेखिएको रेलको उद्घाटन गरिएको थियो।
कार्यक्रममा दोस्रो विश्व युद्धमा पुनका कमान्डिङ अफिसरसमेत रहेका मेजर जेम्स रुथरफोर्ड लुम्लीकी अभिनेत्री छोरी जोआन्ना पनि सहभागी भएकी थिइन्।
पुन २१ वर्षको हुँदा छैठौं गोर्खा राइफलको तेस्रो बटालियनमा राइफलम्यान भएका थिए। बर्माको मोगाउङ्गमा देखाएको बहादुरीका कारण पुनले बेलायतको सर्वोच्च पदक भिक्टोरिया क्रस पाएका हुन्।
सन् १९४४ जुन २३ मा रेलवे ब्रिजमा भएको युद्धमा उनका कयौं साथीहरू मारिएका थिए। सो आक्रमणमा उनी एक्लै निरन्तर लडिरहे। त्यसैक्रममा उनले तीन जना विपक्षी सेना मारेका थिए भने अन्य पाँच जना भागे।
त्यसैगरी उनले आफ्नो प्लाटुनका अरू साथीहरूलाई ब्रिजसम्म पुर्याउन सहयोग गरेका थिए।
यसरी उनको बहादुरीका कारण उनी लेफ्टिनेन्टको पदमा बढुवा भए। बढुवासँगै पुन बर्मा स्टारसहित १० वटा मेडलबाट पुरस्कृत भए।
गत वर्ष दोस्रो विश्व युद्ध सकिएको ७५ औं वर्ष पुगेको अवसरमा ग्रेट वेस्टर्न रेलवेले आफ्ना सात वटा इन्टरसिटी एक्सप्रेस ट्रेनहरूलाई युद्धमा सहभागी मानिसहरूको नाम दिएका थियो।
गोर्खा वेलफेयर ट्रस्टका भाइस प्याट्रोनसमेत रहेकी अभिनेत्री लुम्लेले भनेकी छन्,'म त्यो क्षण कहिल्यै बिर्सिन्नँ, जब मैले लछिमान गुरूङ र तुलबहादुर पुनलाई भेटें, जसले मेरा बुवासँग बर्मामा चिन्दित्सविरूद्ध बहादुरी साथ लडे।'
पुनको नामबाट रेललाई नामाकरण गर्न पाउँदा ट्रस्टका सिइओ अल होवार्डले पनि आफ्नो संस्था नै सम्मानित भएको बताए।
'हामीले एउटै रेजिमेन्टमा सेवा काम गरेका थियौं, त्यसैबीच उहाँलाई भेट्ने एकपल्ट मौका पाएको थिएँ। म कृतज्ञ छु ग्रेट वेस्टर्न रेलवेले तुलको बहादुरीलाई याद गरेर सम्मान दियो,' सिइओ होवार्डले भने,'हामीले कहिल्यै पनि हाम्रो स्वतन्त्रताका लागि २०० वर्षसम्म गोर्खालीहरूले गरेको त्याग, बफादारी र बहादुरी बिर्सिन हुन्न।'
तुलबहादुर पुन भिक्टोरिया क्रस पाउने १३ गोर्खालीमध्ये एक हुन्। सन् १९२३ मा म्याग्दीमा जन्मिएका उनको ८८ वर्षको उमेरमा सन् २०११मा भएको थियो।