सिरहाका १२ वटा स्थानीय तहले गाउँ तथा नगरसभामार्फत बजेट पारित गरेका छन्।
पाँच स्थानीय तहको बजेट अन्योलमा परेको छ। यहीअसार १० गतेभित्र नगर तथा गाउँसभामार्फत नीति तथा कार्यक्रम पारित गर्नुपर्ने बाध्यात्मक अवस्थाका कारण बिहीबार अन्तिम दिन सिरहाका पाँच नगरपालिका र एक गाउँपालिकाले एकै दिन सभामार्फत बजेट पारित गरेका छन्।
जिल्लाको लहान नगरपालिका, धनगढीमाई नगरपालिका, गोलबजार नगरपालिका, कर्जन्हा नगरपालिका, सिरहा नगरपालिका र अर्नमा गाउँपालिकाले बिहीबार एकै दिन नगर तथा गाउँसभामार्फत आव २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट पारित गरेका हुन्।
बजेट पारित गरेका अधिकांश स्थानीय तहले पुरानै योजनालाई निरन्तरता दिँदै सडक पूर्वाधार, कृषि र शिक्षालगायतका क्षेत्रलाई प्राथमिकता दिएका छन्।
गोलबजार नगरपालिकाले रु ८१ करोड पाँच लाख ७५ हजार बराबरको बजेट पारित गरेको छ। सो नगरपालिकाले चालूतर्फ रु ४१ करोड २२ लाख ८८ हजार र पुँजीगततर्फ रु ३९ करोड ८१ लाख ७८ हजार बजेट विनियोजन गरेको नगर प्रवक्ता उमेश बरालले बताए।
नगरसभा सम्पन्न गरेको सिरहा नगरपालिकाले आव २०७८/७९ का लागि रु ७९ करोड ४० लाख १८ हजार बजेट विनियोजन गरेको छ भने सुखीपुर नगरपालिकाले रु ४९ करोड ३३ लाख ६५ हजारको बजेट पारित गरेको जनाएको छ।
त्यस्तै, मिर्चैया नगरपालिकाले रु ६८ करोड ४९ लाख ११ हजारको नीति, कार्यक्रम तथा बजेट पारित गरेको नगरप्रमुख श्रवणकुमार यादवले बताए।
जिल्लाको कल्याणपुर नगरपालिकासहित औरही गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, नरहा गाउँपालिका र विष्णुपुर गाउँपालिकाले भने अझै सभा गर्न नसकेको जनाइएको छ।रासस