भारत प्रशासित जम्मु-कस्मिरमा भारतीय वायु सेनाको स्टेशनका रूपमा रहेको विमानस्थलमा आइतबार भएको आक्रमणमा ड्रोनको प्रयोग भएको देखिएको छ।
भारतीय पत्रिका द इन्डियन एक्स्प्रेसले स्रोतको हवाला दिँदै दुइटा ड्रोनले दुई किलोग्राम तौलका बिस्फोटक पदार्थ विमानस्थल क्षेत्रमा खसालेको जनाएको छ।
आइतबार बिहान दुई नबज्दै विमानस्थलमा दुई बिस्फोट भएका थिए। बिस्फोटमा ठूलो मानवीय र भौतिक क्षति नभए पनि पहिलो पटक भारतीय सैनिक पूर्वाधारमा ड्रोनको प्रयोग गरी आक्रमण भएकाले यसको गम्भीर अनुसन्धान भइरहेको उक्त पत्रिकाले उल्लेख गरेको छ।
भारतीय सुरक्षा अधिकारीहरूले ती ड्रोन पाकिस्तानबाट आएका थिए वा स्थानीय विद्रोही समूहले परिचालन गरेको थियो भन्ने एकिन भइनसकेको बताएका छन्।
विमानस्थल पाकिस्तानी सीमाबाट १४ किलोमिटरको दूरीमा रहेकाले पाकिस्तानले नै ती ड्रोन पठाएको हुन सक्ने सम्भावना पनि रहेको उनीहरूले बताएका छन्।
भारतका रक्षा मन्त्री राजनाथ सिंह र सेना प्रमुख मनोजमुकुन्द नरवणेको लद्दाख भ्रमण गर्नु केही घन्टाअघि भएको उक्त बिस्फोटलाई सुरक्षा अधिकारीहरूले आतंकवादी हमला बताएका छन्।
गत वर्ष जुन २० मा भारतीय बोर्डर सेक्युरिटी फोर्सका सुरक्षाकर्मीले जम्मुको कथुवा जिल्लास्थित सीमा क्षेत्रमा एउटा शंकास्पद ड्रोनलाई खसालेका थिए।