फर्निचरहरू एकमाथि अर्कौ पार्दै खप्टाएर राखिएको छ। केही बरको रूख मुन्तिर जस्तापाताले छोपेर थन्काइएको छ।
शनिबार बिहान १० बज्दै गर्दा तुलसीपुरस्थित ‘द पार्क क्याफे’ को दृश्य यस्तै थियो। यो दृश्यले कोभिड-१९ को दोस्रो लहर र त्यसले होटेल तथा रेष्टुँरा क्षेत्रमा परेको असर अध्ययन गर्न कठिन हुन्थेन।
क्याफे सञ्चालक २८ वर्षीय राजेन्द्र महतरा फोनमा व्यस्त थिए। उनी अर्डर सुन्दै टिप्दै गरिरहेका थिए।
दाङमा मध्य वैशाखदेखि जारी निषेधाज्ञा असार १५ सम्म लम्ब्याइएको छ। अझै पनि होटेल तथा रेष्टुराँ खोल्न मिल्ने आदेश आइसकेको छैन।
धन्न स्थानीय प्रशासनले दिउँसो तीन बजेसम्म होम डेलिभरीको सेवा दिन पाउने नियम ल्यायो।
त्यसैले, मुर्झाउन थालेको रेष्टुराँ व्यवसाय विस्तारै जुर्मराउने तरखर गरिरहेको छ।
उनको रेष्टुराँले पनि गति लिँदैछ।
कोरोनाको कहर कहिले सकिन्छ र निषेधाज्ञा कहिले सकिन्छ? त्यसको कुनै टुंगो छैन। त्यस्तो अवस्थामा कति दिन थन्किएर बस्ने? घर व्यवहार कसरी चलाउने ? यो चिन्ता जोकोहीलाई हुनु स्वाभाविक हो।
यत्रो रेष्टुराँ चलाउने राजेन्द्रलाई किन नहोस्। उनी लकडाउनले निरास भएर बसिरहेका थिए। ग्राहकहरू र साथीभाइहरूले फोन गरेर उनलाई होम डेलिभरी दिन उक्साउन थाले।
‘क्याफे खोल्नुस् र होम डेलिभरी सेवा सुरू गर्नुस् भन्ने माग आइरहन्थ्यो,’ उनले भने।
चुपचाप लागेर घरमा बस्नुभन्दा त केही न केही गरेकै राम्रो ठानेर राजेन्द्र हौसिए।
राजेन्द्रले कर्मचारीसँग सल्लाह गरे। क्याफेमै बस्ने खाने प्रबन्ध मिलाए। स्वास्थ्य मापदण्ड पालना गर्दै किचेन सञ्चालन गरे। क्याफेको किचेन सञ्चालनमा ल्याएको कुरा राजेन्द्रले क्याफेको पेजमा लेखेपछि धमाधम अर्डरहरू आउन थाले।
महिना दिनदेखि खाजा होम डेलिभरी दिइरहेका राजेन्द्रले निषेधाज्ञाको बीचमा पनि मासिक दुई लाख बढीको कारोबार गर्न सफल भएको बताए।
तुलसीपुरको बीच बजारमा रहेको उनको क्याफेमा अरू बेला मासिक दस लाखसम्मको कारोबार हुन्थ्यो।
सबै खर्च कटाएर मासिक डेढदेखि दुईलाखसम्म बचत गर्ने गर्थे। अहिले आम्दानी नै त्यति भए पनि उनी खुसी छन्।
विस्तारै लकडाउन हट्ला र फेरि व्यवसाय पुरानै लयमा फर्केला भनेर पर्खिरहेका छन्। यो व्यवसाय उनले आफ्नै मनबाट रोजेका हुन्। त्यसैले पनि उनलाई धैर्य गर्न बल आउँछ।
राजेन्द्रको बाल्यकाल तथा शिक्षादीक्षा तुलसीपुर बजारदेखि ६ किलोमिटर उत्तरको राना गाउँमा बित्यो। आज पनि उनी गाउँमै बस्छन्।
राजेन्द्र स्कुल सकेपछि होटेल म्यानेजमेन्ट पढ्न काठमाडौं गए। चार वर्षमा स्नातक सके।
थप अध्ययन र अभ्यासका लागि उनी विदेश गए। दुई वर्ष मकाउमा बसेर राजेन्द्रले पढ्दै ग्यालेक्सी नामक पाँच तारे होटेलमा काम गरे।
त्यहाँ उनको आकर्षक सेवा सुविधा थियो। तर, उनको मनले त्यहाँ बसिरहन मानेन। सधैं अर्काको देशमा अर्कैको खटनमा श्रम गर्नु उचित हैन भन्ने निष्कर्षमा पुगेपछि उनी फर्किए।
आफ्नो अध्ययन, ज्ञान र सिप अनुसारको काम गरे नेपालमै राम्रो गर्न सकिन्छ भन्ने राजेन्द्रको विश्वास थियो।
कुनै पनि क्षेत्रमा ज्ञान भएको मानिसलाई केही समय लागे पनि उसले एक दिन अवश्य सफलता प्राप्त गर्न सक्छ।
राजेन्द्र आफ्नो देश मात्र फर्किएनन्। आफ्नै जिल्ला आफ्नै सहर आए। अलि फरक खाले क्याफे सञ्चालन गर्ने निधो गरेर उनी तुलसीपुर आएका थिए।
‘मैले बजार अध्ययन गरेँ, त्यतिखेर दाङमा कतै पनि क्याफे थिएन,’ राजेन्द्रले भने, ‘एउटा फरक व्यवसाय क्याफे पनि हुन सक्छ भन्ने ठानेर मैले जिल्लामै फरक ढंगले क्याफे सञ्चालन गरेको हुँ।’
आज राजेन्द्रले क्याफे सञ्चालन गरेको चार वर्ष पूरा भइसकेको छ। सुरूमा पार्टनरसिपमा खोलिएको क्याफे अहिले उनले एक्लै चलाउँछन्। तुलसीपुरमा उनको क्याफे एउटा ‘ब्राण्ड’ बनिसकेको छ।
उनले क्याफे चलाउन उपमहानगरको खाली जग्गा भाडामा लिएका छन्।
तुलसीपुर नगर विकास हुँदा उसले यो जग्गामा पार्क र संरचनाहरू बनाएको थियो। तुलसीपुरमा सुन्दर र खुला ठाउँमा क्याफे सञ्चालन गर्न दिने काम गरिएको थिएन। राजेन्द्रले भने उपमहानगरसँग भाडामा जग्गा मागे।
सम्झौता अनुसार अझै झन्डै तीन वर्षजति डेढ दुई बिगाहा क्षेत्रफलभित्रको सुन्दर बगैंचामा उनले क्याफे सञ्चालन गर्न पाउनेछन्।
सम्झौता सकिएपछि फेरि उपमहानगरपालिकाले भाडामा नदिए तुलसीपुर क्षेत्रभित्रै सकभर आफ्नै जग्गा किनेर ‘द पार्क क्याफे’को ब्राण्ड जोगाइराख्ने राजेन्द्रले बताए।
आफूले जग्गा पाएपछि राजेन्द्रले पनि थप कला त्यहाँ थपेका छन्। बरको रूखदेखि क्याफेको बीचमा ध्वजापताकाहरू टाँगेका छन्। बगैंचाभित्र आसपासका प्रत्येक बोटबिरूवामा बिजुली बत्तीका झिलिमिली जडान गरेका छन्। विशेष पर्व र उत्सवहरूमा त्यहाँ रात्रिकालीन जमघटहरू हुँदै आएको छ।
बालबालिकाको लागि खेलकुदका सामग्रीसहित एउटा कुनोमा ‘किड्स फन पार्क’ पनि निर्माण गरिएको हुँदा शनिबार तथा बिदाको दिनमा क्याफे बालबालिकाले भरिभराउ हुने गरेको राजेन्द्रले बताए। उनले आफ्नो क्याफेभित्र पूरै पारिवारिक वातावरण निर्माण गरेको बताउँछन्।
उनको क्याफे यहाँका राजनीतिक दलका नेता कार्यकर्ता, कर्मचारी, सञ्चारकर्मी, व्यापारी लगायतको भेटघाट गर्ने प्रमुख थलो हो। सबैको माया र सद्भाव पाएर आफू उत्साहित भएको उनी बताउँछन्।
बगैंचा प्रयोग गरेबापत राजेन्द्र मासिक ४५ हजार भाडा तुलसीपुर उपमहानगरपालिकालाई बुझाउँछन्।
दस जना कर्मचारीका लागि थप डेढ लाखजति खर्च हुने राजेन्द्रले जानकारी दिए।
राजेन्द्र दैनिक आफ्ना सबै कर्मचारीलाई बिफ्रिङ गर्ने गरेको बताउँछन्। सरसफाई कसरी कायम राख्ने, कसरी खाना बनाउने, गेष्टलाई दिने सर्भिस र व्यवहार कस्तो गर्ने? उनी परेको खण्डमा आफैं कुकको कामदेखि वेटरसम्मको काम पनि गर्ने गर्छन्।
‘मैले आफूले जानेको र सिकेको सिप यहाँ कार्यरत् सबै कर्मचारीहरूलाई सिकाउने गरेको छु,’ उनले भने, ‘मेरोमा काम गरेका केही अहिले बाहिर आफ्नै व्यापार गरेर राम्रो गरिरहनु भएको देख्दा खुसी लाग्छ।’
उनले आफ्नो उद्देश्य युवाहरू पनि उद्यमी बन्नुपर्छ भन्ने रहेको बताए।
विदेशमा गरेको श्रम विदेशकै लागि हुने र नेपालमा गरेको श्रम नेपालका लागि हुने भएको हुँदा युवाले आफ्नै देशमा केही उद्यम गर्न जरूरी राजेन्द्र ठान्दछन्।