सहकारीको रकम हिनामिनाको आरोप खेपेका दाङका राप्ती गाउँपालिकाका वडा अध्यक्ष नुमानुन्द सुवेदीसहित २० जना प्रतिवादीको नाममा पक्राउ पुर्जी जारी भएको छ।
दाङ जिल्ला अदालतले मंगलबार गाउँपालिकाका अध्यक्ष सुवेदीसहित २० जनाको नाममा पक्राउ पुर्जी जारी गरेको अदालतका सूचना अधिकारी धनसिंह गिरीले सेतोपाटीलाई बताए।
‘मंगलबार गाउँपालिका अध्यक्षसहित २० जना प्रतिवादीविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ,’ स्रेस्तेदार समेत रहेका गिरीले भने, ‘अदालतले गाउँपालिकाका अध्यक्ष सुवेदीसहित सबैलाई पक्राउ गरेर अदालतमा पेश गर्न आदेश जारी गरेको छ।’
३५ दिने म्याद पक्राउ पुर्जीको म्याद जारी भएको हुँदा प्रतिवादी २० जनालाई प्रहरीले अब जतिखेर पनि पक्राउ गर्न सक्ने गिरीले जानकारी दिए।
देउखुरी बचत तथा सहकारी संस्थाको ५ करोड बढी रकमहिना गरेको भन्दै सहकारी सदस्यहरूले कर्मचारी र पदाधिकारीसहित २५ जनालाई प्रतिवादी बनाई केही दिन अगाडिमात्रै अदालतमा मुद्दा दायर गरेका थिए। यसअघि सहकारी संस्थाका ४ जना कर्मचारीलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइसकेको छ। एक जना कर्मचारीकी श्रीमतीलाई भने साधारण तारेखमा छोड्न अदालतले आदेश दिएको थियो।
सहकारीको रकम हिनामिना प्रकरणमा यसअघि नै गाउँपालिकाका अध्यक्ष सुवेदीले विज्ञप्तिमार्फत् हाल सहकारीमा आफ्नो कुनै पनि पदीय जिम्मेवारी नभएको भन्दै आफू निर्दोष रहेको जानकारी दिएका छन्।
उनले आफू कुनै दिन फरक फरक सहकारीको संस्थापक लगायत महत्वपूर्ण पदमा रहेर काम गरेको भए पनि हाल ४ सहकारी मिलेर देउखुरी सहकारी निर्माण भएको र आफू २०७४ सालदेखि सहकारीमा आवद्ध नरहेको बताएका छन्।
उनले केही कर्मचारीले प्रविधिको गलत प्रयोग गरी जनताको ठूलो रकम हिनामिना गरेको भन्ने खुल्न आएको भन्दै आफूले घटना अनुसन्धानमा पूर्ण रूपमा सघाउने बताएका छन्।
अध्यक्ष सुवेदीले आफैं अदालतमा उपस्थित हुने र सत्यतथ्य अनुसन्धानमा सघाउने बताएका छन्।
दोषीलाई हदैसम्मको कानुनी कारबाहीको लागि स्थानीय जनप्रतिनिधिको प्रमुखको हैसियतले आफूले कुनै कसुर बाँकी नराख्ने विश्वास दिलाएका छन्।