अविरल वर्षाका कारण तनहुँको बन्दीपुरस्थित विमलनगरमा मर्स्याङ्दी नदीले जलसतह सतर्कता पार गरेको छ। मंगलबारदेखि परेको वर्षाका कारण आज मर्स्याङ्दी नदीले जलसतह सतर्कता पार गरेको हो।
पछिल्लो छ घण्टा भारी वर्षा भएकाले नदी तटीय क्षेत्र तथा होचा स्थानमा डुबान हुनसक्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ। लमजुङको घरेढुङ्गा, राइनसटार लगायतका ठाउँमा पनि नदीले जलसतह सतर्कता पार गरेको छ।
बाढीले छाब्दीखोला पुल बगायो
अविरल वर्षासँगै आएको बाढीले व्यास-१ र १३ जोड्ने छाब्दीखोलाको पुल बगाएको छ। बुद्धसिं मार्गअन्तरगत बेलबासनजिक रहेको पुल आज बिहान बाढीले बगाएको हो।
मंगलबारदेखि जिल्लामा निरन्तर वर्षा भइरहेको छ। पुल बगाएसँगै स्थानीयबासीलाई वारपार गर्न समस्या भएको स्थानीयबासी अमर भण्डारीले जानकारी दिए। रासस